सन् २०१७ भरि सूचनाप्रविधि क्षेत्रको जल्दोबल्दो विषय बन्यो बिटक्वाइन। हो के त बिटक्वाइन। यसबारे केही प्रश्नहरु छन्— १) के हो बिटक्वाइन? २) कसरी काम गर्छ? ३) कसरी कमाउने, खर्च गर्ने? ४) यो कानुनसम्मत कि गैरकानुनी?

के हो बिटक्वाइन? बिटक्वाइन डिजिटल करेन्सी हो। यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ। यसको कुनै रङ वा भौतिक रुवरुप हुँदैन। यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरेनटमा राख्न सकिन्छ। यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन। जसले गर्दा भुक्तानी प्रणाली सजिलो तथा सस्तो पर्न जान्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसको कारोबारमा कुनै सीमा हुँदैन र यसको कारोबार इन्टरनेटबाट हुने हुँदा संसारको जुनै कुनाबाट पनि कारोबार गर्न सकिन्छ।

कसरी काम गर्छ? जसरी तपाईंले पैसा राख्न बैंकमा खाता खोल्नुहुन्छ, त्यस्तै  यसका लागि पनि एउटा बिटक्वाइन एकाउन्ट खोल्नुपर्दछ। जसलाई बिटक्वाइन वालेट भनिन्छ। यसमा तपाईंको एकाउन्ट नम्बर र डिजिटल सिग्नेचर हुने गर्छ।

संसारमा जति पनि बिटक्वाइनका प्रयोगकर्ता हुन्छन्, सबैको कारोबार एउटा लेजरमा राखिएको हुन्छ। त्यसमा तपाईंको नाम र जम्मा रहेको बिटक्वाइन हुन्छ। मानौं  श्याम भन्ने मान्छेले रामलाई १ बिटक्वाइन पठायो भने संसारका सबै बिटक्वाइन प्रयोगकर्ताको लेजरबाट श्यामको खाता बाट १ बिटक्वाइन घटेको र रामको खातामा १ बिटक्वाइन बढेको तुरुन्तै देख्न सकिन्छ। यसले गर्दा कुनै मान्छेले एउटै बिटक्वाइन २ जनालाई पठाउन पाउँदैन। कुनै २ व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा सो कारोबार सही हो होइन, सो कारोबार गर्ने व्यक्ति आधिकारिक हो होइन भनेर जाँच्नका लागि बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) प्रयोग गरिएको हुन्छ। यसले दुई व्यक्तिबीचको कारोबारलाई प्रमाणित गर्ने काम गर्छ। सो कारोबार प्रमाणित भएसँगै बिटक्वाइनको कारोबार सम्पन्न हुन्छ।

कसरी कमाउने/खर्च गर्ने? बिटक्वाइनलाई कमाउने तथा खर्च गर्ने उपाय धेरै छन्। तपाईं आफ्नो खातामा बिटक्वाइन थप्न सक्नुहुन्छ, यसका लागि अरु बिटक्वाइन प्रयोगकर्ताबाट पैसा तथा कुनै सामानबाट साट्न सक्नुहुन्छ। कुनै सामान खरिद गर्न तपाईंले बिटक्वाइनको प्रयोग गर्न सक्नुहुन्छ।

बिटक्वाइन कमाउने सबैभन्दा उत्तम तरिका भनेको तपाईंले आफ्नै बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) खरिद गरेर सञ्चालन गर्नु हो। कसैले बिटक्वाइनको कारोबार गर्दैछ भने सो कारोबारलाई प्रमाणित गर्नका लागि सम्बन्धित कारोबारको एउटा जटिल गणितीय  हिसाब हल गर्नुपर्ने हुन्छ। त्यो अत्याधुनिक कम्प्युटरले मात्रै क्षमता राख्दछ। त्यस्ता अत्याधुनिक कम्प्युटरले धेरै विद्युत खपत गर्ने गर्छ। तपाईंको बिटक्वाइन माइनरले कसैको बिटक्वाइन कारोबार प्रमाणित गरेबापत केही बिटक्वाइन कमाइ गर्नुहुनेछ।

यो कानुनसम्मत कि गैरकानुनी? बिटक्वाइनका केही सबल पक्ष हुँदाहुँदै पनि यसका केही चुनौती पनि छन्। बिटक्वाइनको कारोबार नियन्त्रण गर्ने कुनै निकाय नहुँदा यसको प्रयोग धेरैजसो गैर कानुनी काम जस्तै: कर छली, सम्पती शुद्धीकरण, आतंकवादी तथा ह्याकिङ गतिविधि भइरहेको छ। जसले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर देखिन जान्छ। त्यसैले संसारका धेरै देशमा बिटक्वाइनको कारोबार गैरकानुनी मानिन्छ भने युएस, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियन जस्ता देशमा भने यसको कारोबार कानुनसम्मत मानिन्छ।

नेपालमा पनि राष्ट्र बैंकले गैरकानुनी घोषित गरेको छ। यो यस्तो व्यवसाय हो जसमा अत्यधिक जोखिम हुन्छ साथसाथै अत्यधिक मुनाफा पनि। हाल १ बिटक्वाइनको बजार मूल्य लगभग ११ हजार डलर रहेको छ। यसको मूल्य स्थिर नभई निकै तलमाथि हुने गरेको छ।