२०५६ सालमा कान्छा सांसदका रुपमा संसद छिरेका राई अहिलेसम्म अविवाहित हुन् । राजनीति गर्दागर्दै बिहे गर्न बिर्सेको भनेर ठट्टा गर्ने राईले गएको निर्वाचनको बेला दिएको अन्तर्वार्तामा मुख्यमन्त्री भएर बिहे गर्ने बचन दिएका छन् ।
काठमण्डौ/प्रदेश नं. १ को मुख्यमन्त्रीमा एमालेका युवा नेता शेरधन राई निर्वाचित भएका छन् । ४६ वर्षीय राई पछिल्लो समय एमालेका सबैभन्दा भाग्यमानी युवा नेता मानिन्छन् । राईले पार्टी सचिव समेत रहेका भीम आचार्यलाई हराएका छन् ।
प्रदेश सभामा उम्मेद्वारी दिँदादेखि मै हुँ मुख्यमन्त्री भन्दै दाबी गर्ने राई राष्ट्रपति विद्ययादेवी भण्डारीका नजिकका मान्छे मानिन्छन् । ओली गुटले सुरुदेखि नै मुख्य मन्त्रीका लागि काँध हालेका राईले भीम आचार्य जस्ता पुराना मान्छेलाई हराउन सके । नेपाल गुटको अन्तिमसम्म दुईटा उम्मेद्वार देखिनु, निर्वाचनको समयमा भीम आचार्यमाथि पैसाको आधारमा टिकट वितरण गरेको आरोप लाग्नु जस्ता कमजोरीले राईलाई चिठ्ठा परेको हो ।
युवा नेता राईको २०७० सालपछिको राजनीतिक सफलताको ग्राफ उकालो मात्र लागेको छ । जातीय मुद्दामा बहकिएर एमालेका अशोक राई, अजम्बर काङबाङ जस्ता नेताहरुले पार्टी छोड्दा जातीय राज्य हुनुहुँदैन भनेर उनैले अड्डी लिए । छोटो समयमै पार्टी छोडेर जानेहरुको रिक्तता उनले भरे । किरात बहुल क्षेत्रबाट कसैले पार्टी छोड्दैमा एमाले रित्तो नहुने सन्देश उनले पार्टी केन्द्रमा दिए । विषम् परिस्थितिमा लिएको अडानकै प्रतिफलको रुपमा मुख्यमन्त्रीको उपहार राईले पाएका छन् ।
जातीय राज्य विरुद्ध शेरधनले आवाज उठाएपछि जिल्ला अध्यक्षका रुपमा रहेका उनलाई केन्द्रीय सदस्य बनाउन एमाले नेतृत्वले आवश्यक ठान्यो । त्यही भएर ४ कार्यकालसम्म एमाले भोजपुरका अध्यक्ष भएका राई २०७० सालमा पार्टीको केन्द्रीय सदस्य मात्र भएनन् उनले सो क्षेत्रबाट सांसदको टिकट पनि पाए । चुनाव जितेपछि राई त्यसलगत्तै सूचना तथा संचारमन्त्री समेत बने । राई सञ्चारमन्त्री हुँदा धेरै एमाले कार्यकर्ताहरुलाई राजनीतिक नियुक्ती दिएर एमाले वृतमा चर्चा बटुलेका थिए ।
२०५६ सालमा कान्छा सांसदका रुपमा संसद छिरेका राई अहिलेसम्म अविवाहित हुन् । राजनीति गर्दागर्दै बिहे गर्न बिर्सेको भनेर ठट्टा गर्ने राईले गएको निर्वाचनको बेला दिएको अन्तर्वार्तामा मुख्यमन्त्री भएर बिहे गर्ने बचन दिएका छन् ।
प्रदेशको संसदीय दलको नेतामा चुनिएर मुख्यमन्त्री बन्ने पक्का भएका राईलाई लगनगाँठो बाँध्ने साईत जुर्छ भन्ने कुरामा एमाले कार्यकर्ता ढुक्क छन् । सानै उमेरमा सांसद हुँदै मन्त्री समेत बनेका आकर्षक व्यक्तित्वका धनी राईलाई बेलाबेला युवतीका प्रसंगले तनाव दिने गरेको छ । भलै उनी यस मामलामा विवादित छैनन् ।



