विराटनगर : प्रदेश १ का एमाले संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश १ का प्रमुख डा. गोविन्द सुब्बाले राईलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सुब्बाले राईलाई प्देश १ को मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
राई एमाले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई दुई मतले पछि पार्दै प्रदेश १ को संसदीय दलको नेता बनेका थिए । प्रदेश १ का एमाले ५१ सांसद मध्ये राईले २६ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी आचार्यले २४ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो ।
को हुन् शेरधन
रधन राई भोज १ ख बाट नेकपा एमालेका प्रदेशसभा सदस्य निर्वाचित सदस्य हुन्। उनी बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते भोजपुरमा जन्मिएका हुन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। तीन वर्ष भूमिगत जीवन बिताएका राई हाल नेकपा एमाले वैकल्पिक पोलिटव्युरो सदस्य हुन्।
प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिव समेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।
पसल भञ्ज्याङदेखि मुख्य मन्त्रीसम्म
भोजपुर सदरमुकामबाट १४ कोष टाढा पर्दछ, थिदिङखा गाउँ (साबिकको गाविस) । त्यही गाउँको पसलभञ्जाङ भन्ने टोलमा २०२७ सालमा जन्मिएका हुन् शेरधन । अहिले बिस्तारै सडक पुग्दैछ । तर, उतिबेला गाउँ पुग्न सदरमुकामदेखी एक दिन पैदल हिडेर मात्रै पुगिन्थ्यो । सामान्य किसान परिवार । बिहान बेलुकी दाउरा–घाँस गरे स्कुल जानु सामान्य दैनिकी जस्तै थियो । भुगोलको विकटताको हिसाबले दैनिकी निकै कठिन र जटिल थियो । तर, चेतनाको हिसाबले भोजपुर उर्बर । त्यही चेतनाले उनलाई पनि राजनीतितिर तान्यो । जतिबेला उनले समाजलाई सामान्य हिसाबले चिन्न सके, ठिक त्यतीबेला देखी संगठित भएर लागिहाले उनी । सबै खालका अन्याय, विभेद र असमानता हटाउनका निम्ती लड्न र लाग्न जरुरी छ भन्ने चेतनाले डोहोराएर उनी अनेरास्ववियुको प्राकमा संगठित भए । ०४४ बाट उनको यात्रा सुरु भयो ।
अखिलको प्राकबाट अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र पूर्वाञ्चल संयोजक भए । सक्रिय शेरधनलाई अखिलमा स्थापित हुन त्यतिधेरै समय लागेन । अखिलमा उनको यात्रा तेज गतिमा नै अघि बढिरहेको थियो, तर एमाले विभाजन भयो । ०५४ मा एमाले विभाजन भएको बेला उनी एमालेमा उपसचिव थिए । भोजपुरे अधिकांस नेता मालेमा गएपछि उनले पार्टीको कमाण्ड समाल्नुपर्ने भयो । अखिलको यात्रालाई पूर्ण बिराम लगाएर पार्टी सम्हाल्न भोजपुर गए । अखिलको लोभलाग्दो यात्रालाई पार्टीको कमाण्ड सम्हाल्नु उनको त्यो समयको ऐतिहासिक जिम्मेदारी थियो ।
विभाजित अवस्थामा २०५४ सालमा उनकै नेतत्वमा एमालेले चुनाव लड्यो । भोजपुर एमालेको लालकिल्लाको रुपमा स्थापित भयो । २०५६ सालमा संसदीय निर्वाचनमा सबैभन्दा कान्छो उमेरका संसद उनै थिए । ०६४ चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीका सुदन किरातीसँग पराजित भएका राई पुनः दोस्रो संविधानसभाको विजयी भए । दोस्रो संबिधानसभामा निर्वाचित भएपछि संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । लगत्तै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । हाल पार्टीको वैकल्पीक पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर एकको सह–संयोजकको जिम्मेवारीमा छन् ।
सधैं अडिक र अविचलित
२०५४ सालमा संसदीय चुनाव लड्दै गर्दा उनी २७ बर्षे लक्का जवान थिए । आकर्षक र खाईलाग्दो अनुहार । पोष्टरमा उनको तस्बिर देखेर उनका समर्थकहरुले नारा लगाएका थिए,‘भोट कसलाई, हाम्रो कान्छा भाईलाई ।’ भोजपुरे जनताहरुको त्यही कान्छा त्यही बेलादेखी अविचलित रुपमा एमालेको अभियान र आन्दोलनमा लागिरहेका छन् ।
एमाले विभाजन कालमा पार्टीलाई सम्हाले । तत्कालिन पार्टी उपाध्यक्ष अशोेक राईले पार्टी छोडेर नयाँ पार्टी बनाउदै गर्दा धेरै भोजपुरका अगुवा नेताहरुले पार्टी छोडे । त्यतिबेला शेरधन जिल्ला अध्यक्ष थिए । २४ जिल्लाका आदिवासी जनजाति मुलका पार्टी अध्यक्षहरुले एमाले बचाउँ अभियान सुरु गरे । त्यो अभियानका नेतृत्वदायी भुमिकामा थिए शेरधन । एमालेको अभियानमा सधैं उनी अडिक रहे । टुटफुट र बिभाजनमा उनी अविचलित रुपमा एमालेको रक्षामा लागिरहे ।
संसद र मन्त्रीको भुमिका
शेरधनले संसदको निकै प्रभावी सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । उनी संसदको सुशासन तथा अनुगमन समितिको सभापति रहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर स्पष्टीकरण समेत सोधेका थिए । प्रमुख आयुक्तसहितका अधिकारीहरुलाई अख्तियारमाथि हाल उठिरहेका विभिन्न प्रश्नका बारेमा प्रष्टीकरण सोधेपछि त्यो बेला उनको कदम चर्चामा थियो । उनले कार्कीलाई सोधका थिए, ‘अनुसन्धान कसरी गरिन्छरु कारवाहीका प्रक्रियाहरु कसरी अगाडि बढाइएको छरु त्यहाँका गुप्तचर र जनशक्तिको अवस्था कस्तो छरु अहिले उठिरहेका विभिन्न प्रश्नहरुको सन्दर्भमा अख्तियारको भनाई के हो ? निर्दोष मान्छेहरु पनि कारवाहीमा परिरहेका छन् कि ?’ जतिबेला लोकमानलाई संसदीय समितिमा बोलाएर उनले प्रश्न सोधे त्यतिबेला लोकमानको जगजगी र आतंक थियो । त्यही बेला जोखिम मोलेरै उनले समितिमा बोलाएका थिए ।

सूचना तथा सञ्चारमन्त्री भएको बेला पनि उनले नीति निमार्णको सन्दर्भमा राम्रो काम गरेका थिए । उनी सञ्चार मन्त्री भएको बेला बनेको आम सञ्चार नीति निकै उपलब्धी मानिन्छ । राष्ट्रियता र समावेशीताको हिसाबले यो आम सञ्चार नीतिलाई सञ्चार क्षेत्रको कोशेढुङ्गा मानिन्छ । आमसञ्चार प्रतिष्ठान गठन, विज्ञापन परिषद् निर्माण, क्लिन फिड, सार्वजनिक प्रशारण सेवाको सन्दर्भमा उनले नीतिगत रुपमा दिर्घकालिन रुपमा काम गरेर छोडेका छन् । क्लिन फिड राष्ट्रियताको सन्दर्भमा निकै ठुलो राख्ने नीति हो । तर, हाल भारतीयहरुको दबाबमा यो नीतिलाई लागु गर्न दिइएको छैन । त्यसो त सञ्चारमन्त्री भएकोबेला समयको कारण सोचे जस्तो काम गर्न नसकेकोप्रति उनी सचेत छन् । भन्छन्, ‘निश्चय नै मसँग धेरै योजनाहरू थिए, तर त्यत्ति हुँदाहुदै पनि धेरै कामहरू गर्न सकिएन किनभने निश्चित सीमा, समय र कार्यभारले गर्दा त्यो सम्भव भएन । हामीसँग समय थोरै थियो । प्रमुख कार्यभार संविधान निर्माण थियो । यसले गर्दा पनि समृद्धि र विकासका काममा चाहे जस्तो समय दिन सकिएन, तर अब ती कार्यभारहरू सम्पन्न भएका छन् । अब हाम्रो सम्पूर्ण ध्यान विकास समृद्धिको लागि हुनेछ ।’
सपना समृद्ध प्रदेश नम्बर एक
शेरधन यसपालीको निर्वाचनमा भोजपुर क्षेत्र न।२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । त्यसो त उनले चाहेको भए उनी प्रतिनिधिसभाको लागि उम्मेदबार बन्न उतिधेरै अप्ठ्यारो थिएन । तर, उनले प्रदेशसभा सदस्य नै रोजे । त्यसको कारण हो प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने उनको आकङ्क्षा ।
प्रदेश नम्बर एकमा उनले अनन्त सम्भावना देखेका छन् । प्रदेश नम्बर एकलाई नेपालकै समृद्ध प्रदेश बनाउने उनको सपना छ । ‘हाम्रो प्रदेश अन्य प्रदेशको तुलनामा सम्भावनै सम्भावना बोकेको प्रदेश हो । हामीसँग विश्वकै उच्च शिखर सगरमाथालगायतका अन्य हिमालहरू छन् । धार्मिक र सांस्कृतिक हिसाबले पनि हामी अघि छौं,’ भन्छन्, ‘एक नम्बर प्रदेशलाई नेपालकै समृद्ध प्रदेश बनाउन सकिन्छ । त्यो आत्मविश्वास म सँग छ । त्यो आधार पनि छ ।’

सपनाले थिचिएका शेरधन
शेरधनको राजनीतिक यात्रा सधैं रफ्तारमै दोडिरहेको छ । धेरै घुम्ती र मोड आए पनि गति तेज नै छ । तर, एउटा जीन्दगी पछाडि नै छोडिएको छ । उनको विवाह अहिलेसम्म भएको छैन । मुलत राजनीतिक दौडधुपको कारण नै विवाहको लागि समय नभएको उनले बताउने गरेका छन् । उनले राजनीति यात्रामा पाएको सफलताको कारण उनको निष्ठा र इमानदारिता नै हो । सबै कामहरु निष्ठा पूर्वक गरेको बताउँछन् शेरधन । उनी संसद, मन्त्री संसदीय समितिका सभापति भइसके । तर, उनको बुवाआमा भोजपुरको पसलभज्याङमै छन् । बुवा अझै हलो जोत्छन् । आमा पतकर बटुल्छिन् । शेरधनको लागि आफ्नो र परिवारको सुखभन्दा सबैको सुख महत्वपूर्ण रह्यो । भन्छन्,‘हामी सबैको सुखद र उज्यालो भबिष्यको लागि मेरो विगत र बर्तमान समपर्ण गरेको छु ।’



