विष्णुप्रसाद पोखरेल
दमक/झापाका सडकहरुमा सरोकारवाला निकायका अधिकारीहरुसंग सेटिङमा मालवाहक लहरी अर्थात कन्टेनरहरु चल्ने गरेको रहस्यको खुलासा भएको छ । इलाका ट्राफिक प्रहरी कार्यालय दमकले क्षमताभन्दा बढि भार बोकेर आएका ९ वटा कन्टेनरहरु नियण्त्रणमा लिएपछि यो रहस्यको खुलासा भएको हो ।
४ दिनअघि इलाका प्रहरी कार्यालय दमकको जाँच स्थल ताराबारीमा कन्टेनरहरु जाँच गर्दा ४२ टनसम्म कोइला बोकेर गुडिरहेको पाइएपछि नियण्त्रणमा लिइएको हो । अहिले पनि ति कन्टेनरहरु सडकमा नै रहेकाछन् । ४ दिनमा समेत कन्टेनरको बिषयमा के गर्ने भनेर निर्णय हुन नसक्दा अलमल भएको पाइएको छ ।
काकडभिट्टा स्थित भन्सारमा पास भएर आएका र बिर्तामोड समेत क्रस गरेर आएका कन्टेनरहरु दमकमा पक्राउ परेपछि यसले ट्राफिक बृतहमा समेत खैलाबैला मच्चिएको छ । छ महिना अघिसम्म दमकमा धर्मकाटा नहुदा यसै यस्ता कन्टेनरहरु छोडिने भएपनि अहिले धर्मकाटा भएपछि जाँच गर्दा ४२ टनसम्म कोइला बोकेको पाइएको इलाका ट्रापिक प्रहरी कार्यालय श्रोतले बताएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राइले आफूहरुले जाँच गर्दा बढि भार पाएकाले आवश्यक कार्वाहीका लागि यातायात ब्यवस्था कार्यालय मेचीलाइ अनुरोध गरिएको जनाए । आवश्यक कागजपत्र सहित उक्त कार्यालयमा कार्वाहीका लागि पठाइएको उनको भनाइ छ ।

सडकमा कन्टेनर रोकिदा आफूहरुलाइ नै थप अन्य सवारी साधन जाँचमा अप्ठेरो परेको उनको भनाइ थियो । यातायात कार्यालयको क्षेत्रअधिकार भित्र पर्ने भएकाले ट्राफिकले केहि गर्न नसक्ने भन्दै ट्राफिकले यातायात ब्यवस्था कार्यालय देखाएको हो ।
यता यातायात ब्यवस्था कार्यालय मेचीका कोहि पनि अधिकारीहरु यस बिषयमा कुरा गर्न चाहादैनन् । कार्यालयको नम्बरमा बारम्बार फोन गर्दा समेत उठ्दैन । यातायात ब्यवस्था कार्यालयदेखि भन्सारसम्म कोइलामा सेटिङ भएर सामान आउने श्रोतको दाबी रहेको छ । यसमा सरकारी उच्च अधिकारीहरुको पनि संलग्नता रहदै आएको श्रोतले दाबी गर्यो ।

भारतबाट आउने कोइलाका गाडिहरु यसरी दमकमा पहिलो पटक ट्राफिक नियण्त्रणमा रहेको हो । अहिले नियण्त्रणमा लिएपछि ट्राफिकलाइ नै घाँडो भएको बताइन्छ ।



