झापा, फागुन २ / आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । कतिपय युगल जोडीले आपसमा माया र स्नेह साटासाट गर्दै यो दिवस मनाएका छन् त कतिपय तरुण – तन्देरीले प्रेमको प्रतिक मानिएको रातो गुलावको फूल आपसमा आदन प्रदान गरेर यो दिवस मनाएका छन् । तर, नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्मा र उहाँकी श्रीमती कविता शर्माले ‘भ्यालेन्टाइन डे’ फरक तरिकाले मनाउनु भएको छ ।
झापा मेचीनगर घर भएका शर्मा दम्पत्तीले दक्षिणी झापाको कचनकवल गाउँपालिका निवासी २८ वर्षीया निर्मलादेवी गणेशलाई रक्तदान गर्दै यो दिवस मनाउनुभएको हो । प्लेटलेटको मात्रा कम भएर बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचाररत गणेशलाई शर्मा दम्पत्तीले रक्तदान गर्दै यो दिवस मनाउनु भएको हो । गणेशलाई ओ पोजेटिभ रगत आवश्यक परेको थाहा पाएर शर्मा दम्पत्तीले अस्पताल आएरसंगै रक्तदान गर्नुभएको थियो ।
गणेशलाई अझैं १० पिन्ट रगत आवश्यक परेको भन्दै शर्माले सामाजिक सञ्जाल फेसवुक मार्फत ओ पोजेटिभ रगत दान गरेर उहाँको जीवन बचाउन आग्रह समेत गर्नुभएको छ । उहाँले फेसवुक मार्फत नै रक्तदान गर्न चाहनेले बिर्तामोडमा रहेको ब्लड बैंकको टेलिफोन नम्वर ०२३–५४१८३३ मा सम्पर्क गरेर रक्तदान गर्न आग्रह गर्नुभएको छ ।

शर्मा मात्र होइन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले पनि प्रणय दिवस फरक तरिकाले मनाउनुभएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजना गरिएको भ्यालेन्टाइन डे विशेष कार्यक्रमका प्रमुख अतिथि बन्नुभएका भट्टराईले श्रीमती सीतालाई स्टेजमै बोलाएर रातो गुलावको फूल प्रदान गर्दै यो दिवस मनाउनु भएको हो ।
भट्टराईले श्रीमती सीतालाई स्टेजमै बोलाएर गुलवको फूल दिँदै भन्नुभयो – मेरो हरेक पाइलामा साथमा दिने सीताजीलाई यो फूल ग्रहण गरिदिन आग्रह गर्दछु ।’ उहाँले थप्नुभयो – यो प्रेम साट्ने एउटा प्रतिक मात्र हो, प्रेमी प्रेमीका वीचमा खास प्रेम भयो भने मानिस जिन्दगी सबल बन्छ ।



