विष्णुप्रसाद पोखरेल
दमक । पूर्वका बेरोजगार युवाहरुलाइ सीप सिकाएर रोजगार बनाउने उदेश्यकासाथ झापाको दमकमा सञ्चालनमा ल्याइएको इलम प्रशिक्षण केन्द्रका लागि दाताले दिएको लाखौ मूल्य पर्ने साढे ३ कठ्ठा जमिन नै हराएको पाइएको छ । दमक उद्योग बाणिज्य संघको मातहतमा रहेको इलम प्रशिक्षण केन्द्रको उक्त जग्गा संरक्षणको अभाव र वेवास्थाका कारण हराएको पाइएको हो ।
५ वटै बिकास क्षेत्रमा एक÷एकवटा इलम प्रशिक्षण केन्द्र सञ्चालन गर्ने कार्यक्रम अन्र्तगत सिटिइभिटि, नेपाल उद्योग बाणिज्य महासंघ र दमक उद्योग बाणिज्य संघको त्रिपक्षिय सम्झौताका आधारमा दमकमा इलम प्रशिक्षण केन्द्र सञ्चालनमा आएपछि साविक दमक १३ का श्याम श्रेष्ठले जग्गा दान गर्नु भएको थियो । यहि जग्गा विवादका कारण केन्द्र सञ्चालनमा समेत समस्या आएको बताइन्छ ।
तत्कालीन बाणिज्य सघका अध्यक्ष बिजय बरालका अनुसार श्रेष्ठले १२ कठ्ठा जमिन दिने बताएको र दूइ कठ्ठा जमिन सडकमा जाने भएकाले २०६१ सालमा १० कठ्ठा जमिन पास गरेर दिनु भएको थियो । अहिले पनि बाणिज्य संघसंग कित्ता नम्बर ११२५ को ३ धुर र ११२७ को ९ धुर १७ कठ्ठाको जग्गाधनी दर्ता प्रमाणपत्र र मालपोत तिरेको प्रमाणहरु रहेकाछन् ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं इलम पंशिक्षण केन्द्र भौतिक संरचना निर्माण समितिका संयोजक बिमल खतिवडाका अनुसार केन्द्रको जग्गा नाँपचाँच गरेर पर्खाल लगाउन खोज्दा जग्गा हराएको थाहा पाइएको हो । हरेक प्रतिवेदनहरुमा १० कठ्ठा जमिन रहेको पाइएको जनाउदै अहिले साढे साढे ६ कठ्ठाभन्दा कम जग्गा रहेपछि खोजतलास शुरु गरिएको हो ।

नापी कार्यालयलाइ राजश्व तिरेर लिखित निवेदन दिइ ६ महिना अगाडि नै नाँपजाँच गरेर विवरण दिन माग गरेपनि अहिलेसम्म यो कार्य समेत नभएको खतिवडाले बताउनु भएको छ । आफूहरुले निर्वाचनको समयमा केन्द्रको १० कठ्ठा जमिनको संरक्षण र सञ्चालन गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अहिले त्यो परिमाणमा जग्गा नभएकाले काम गर्नका लागि राखिएको ४० लाख रुपिया समेत प्रयोग हुन नपाएको खतिवडाले बताउनुु भयो ।
जग्गा हाल साविक गर्दा नै चहलखेल भएको हुनसक्ने बताइएको छ । इलम प्रशिक्षण केन्द्रले २०६८ साल असार १५ गते मालपोत कार्यालयलाइ ८१ चल्ति नम्बर रहेको पत्रमा साविक गरि पुर्जा समेत उपलब्ध गराउन आग्रह गरेको भेटिएको छ । त्यो पत्रमा समेत १० कठ्ठा जमिनमा २ नम्बर नापी गोश्वाराले नाप नक्सा गर्न छुटाएको उल्लेख छ ।
त्यसपछिको पुर्जामा भने साढे ६ कठ्ठामात्र जमिन भएको थाहा भएपनि बाणिज्य संघले समेत यस बिषयलाइ बाहिर नल्याएको र त्यसपछिका प्रतिवेदनहरुमा समेत दश कठ्ठा नै जमिन रहेको भन्दै आइरहेको श्रोतको दाबी रहेको छ । केन्द्रको जग्गा वेवारिसे देखेपछि बाटो सार्ने, आफ्नो नाममा नाँप गराउने र नक्सा बदल्ने सम्मका काम भएको पाइएको बाणिज्य संघका एक पदाधिकारीले बताउनु भयो ।
अहिले पुरानो र नयाँ नक्सामा नै धेरै फरक रहेको ति पदाधिकारीले बताउनु भयो । यो जग्गा अहिले धुरको २ देखि २ लाख ५० हजारसम्म पर्ने भएकाले लाखौको चहलखेल हुनसक्ने भन्दै बाणिज्य संघले वास्तविकताको खोजी कानूनी सल्लाहकार नियुक्त गरेर अघि बढेको पनि जनाइन्छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले पहिलो जग्गाको नक्सा १२ कठ्ठा १० धुरको, जग्गा प्राप्त हुदा १० कठ्ठाको धनीपूर्जा र अहिले हेर्दा ६ कठ्ठा १० धुरमात्र रहेपछि आफूहरु अचम्ममा परेको बताउनु भयो । सबै पक्ष बसेर यतिमात्र जग्गा हो भनेर भनिदिएमा र लेखेर दिएमा आफूहरु तत्काल काम शुरु गर्ने ढकालले बताउनु भयो ।
जग्गादाता श्याम श्रेष्ठ र तत्कालिन बाणिज्य संघका अध्यक्ष बिजय बरालसंग छलफल गर्दा उहाँहरुले बाटोलाइ २ कठ्ठा छुट्याएर १० कठ्ठा केन्द्रको नाममा दर्ता गराएको बताएको पनि उहाँले जानकारी दिनु भएको छ ।
इलम प्रशिक्षण केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका ढकालले आफूहरुले धनीपूर्जा प्रमाणपत्रमा भएको जग्गा खोजी शुरु गरेको बताउदै यसमा नापी कार्यालयले नाप गर्नका लागि कर्मचारी नै नपठाएको समेत गुनासो गर्नु भयो ।

गोरखापत्रबाट



