फाल्गुन महिनाको सङ्क्रान्ति मङ्गलबार परेको छ तर सूर्यको राशि सङ्क्रमणको समयमा सोमबारकै संयोग परेको छ । त्यस्तै उक्त समयमा मकर लग्न र कृष्णपक्षको चतुर्दशी तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले फाल्गुन महिनाभरि कुम्भ राशिमा विचरण गर्ने गर्दछन् । यस महिनाको प्रारम्भमा आफ्नै घरमा बृश्चिक राशिमा रहेको मङ्गल ग्रह २७ गते धनु राशिमा पुग्ने सङ्केत छ । सुरुमा कुम्भ राशिमा रहेको बुध ग्रहले १८ गते मीन राशिमा प्रवेश गर्नेछ । सुरुमा कुम्भ राशिमा उपस्थित शुक्र ग्रहले पनि १७ गते राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्नेछन्, त्यस्तै गतिमा अतिचार भई माघ महिनाको २७ गते बृश्चिक राशिमा आइपुगेको बृहस्पति ग्रहले महिनाभरि त्यसै राशिमा उपस्थिति जनाउने सङ्केत छ । त्यसबाहेक धनु राशिमा रहेको शनि, कर्कट राशिमा रहेको राहु र मकर राशिमा रहेको केतु ग्रहको भने महिनाभरिको अवस्थिति यथावत् रहने देखिन्छ ।
यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनता खुसी, सुखी र प्रसन्न रहने छन् । अधिकतम उपभोग्य पदार्थको मूल्यमा गिरावट आउने छ, तर तेल, घिउ र किराना वस्तुको मूल्यमा बृद्धि हुने लक्षण छ । त्यस्तै फलफूल र तरकारीको मूल्यमा बृद्धि हुनेछ । दक्षिणी वायुको प्रकोप हुने छ भने राजनैतिक वृत्तमा पनि दक्षिणी छिमेकीहरूले वर्चस्व स्थापना गर्ने वातावरणको सिर्जना हुने सङ्केत देखिन्छ । हावा चल्ने र आँधीहुरीको सम्भावना पनि रहने छ, जसका कारण तराई र भारतमा धनजनको क्षति हुनसक्छ । त्यसबाहेक समाजमा सानातिना आपराधिक गतिविधिमा बृद्धि हुने सङ्केत पनि छ, चोरीडकैती जस्ता उपद्रवका समाचार सुन्न पाइने छ । सेयर कारोबारमा सामान्य छ भने सरकार र दलका बीचको सम्बन्धसमेत सामान्य नै रहने देखिन्छ ।
अब फाल्गुन महिनाको मासिक राशिफलको जानकारी लिन तलको भिडियो हेर्नुहुन अनुरोध छ :-
फाल्गुन महिनाको मासिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एघारौं भावमा बसेको सूर्यको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । तर राशिस्वामी मङ्गल र भाग्येश बृहस्पतिको प्रभाव राम्रो देखिंदैन । सूर्यको प्रभावले छिटपुट रूपमा किनमेल र कारोबारहरू सफल हुने, करार एवं सम्झौताबाट लाभ मिल्ने तथा दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहे पनि अहिलेको समय त्यति राम्रो रहने छैन । आर्थिक पक्षमा हानिको सम्भावना छ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ । आफ्ना परिजन र घरपरिवारकै सदस्यका कारण समेत तनावको सामना गर्नु पर्ने हुन्छ । परिचित व्यक्तिका बारेमा दुःखद समाचार सुन्नु पर्नेछ । असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा रोगले सताउन सक्छ । मस्तिष्कलाई आराम हुनेछैन । त्यसैले यस महिनाको ०६, ०७, ०८, १५, १६, २३, २४ र २५ गते तपाईंले सतर्क र सावधान हुनु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कर्मक्षेत्रमा प्रवेश गरेको सूर्यको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने तथा कर्मक्षेत्रको परीक्षण गर्ने समय हो । महिनाको मध्यभागसम्म राशिस्वामी शुक्र पनि कर्मस्थान रहने र उत्तरार्द्धमा राज्यस्थानमा रहने भएकाले यो महिना व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुृहुनेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिन प्रतिदिन सुध्रने सङ्केत छ । तर भाग्येश शनिश्चर आठौं भावमा बसेर अढैया दशाको समय चल्दै गरेकाले कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ । त्यसैले विशेष गरी यस ०१, ०८, ०९, १०, १७, १८, २६, २७ र २८ गते तपाईंले सचेत हुनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्स्थानमा बुधादित्य योगको सिर्जना भएकाले राम्रो समयका रूपमा फाल्गुन महिनाको आगमन भएको छ । तर यस अवधिमा लामो यात्रा सफल हुनेछैन एवं मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ, सचेत हुनुपर्छ । यद्यपि उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । धनार्जनका दृष्टिले राम्रो समय छ । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । छैटौं भावमा मङ्गल ग्रह रहेकाले सानातिना रोगव्याधि विशेष गरी श्वासप्रश्वास र पाचनप्रणालीमा असर पर्ने सम्भावना पनि देखिंदैछ । सामान्यतया तपाईंका लागि यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३० गते ऊर्जाशील नहुने सङ्केत छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो महिना छैन, आठौं भावमा सूर्यको प्रवेश भएको छ । अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ रहने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । बुद्धि र विवेकले काम नगर्न सक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । मित्र र सहयोगीहरूबाट निराशा हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ । तर भाग्येश बृहस्पति पाँचौ भावमा रहेकाले आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । आत्मविश्वासमा बृद्धि हुनाले सम्मान र प्रतिष्ठा मिल्नेछ । खासगरी यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते तपाईंले अलि बढी चनाखो हुनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बृहस्पतिको प्रभावले पारिवारिक सुख मिल्ने समय छ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्ने सम्भावना पनि देखिंदैछ, साथै उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुगिने सम्भावना पनि छ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । तर सातौं सूर्य र चौथो मङ्गलको प्रभाव प्रतिकूल रहने छ, मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना देखिन्छ । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक/व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । हृदय र छातीका रोगीहरूले अलि सतर्क रहने महिना हो । खासगरी यस महिनाको ०६, ०७, ०८, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । तर राशिस्वामी बुधको छैंटौं भावमा उपस्थिति भएकाले महिनाको पूर्वार्द्धमा खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । पारिवारिक जीवनसमेत राम्रो छैन । सम्भव भएसम्म यात्राबाट जोगिनु नै असल हुन्छ । तर १८ गते बुधले सातौं भावमा प्रवेश गरेपछि प्रणय र रोमान्सका लागि अनुकूल समय आउने छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बुद्धि क्षेत्रमा सूर्यको उपस्थिति भएकाले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी शुक्रसमेत सुरुमा पाचौं भावमा नै रहेकाले विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । पञ्चमेश शनि तृतीय भावमा तथा राहु दशमभावमा रहेकाले आत्मविश्वासको मात्रा बढ्ने छ । निडर र जुझारु बन्नुहुनेछ र झैझगडा, विवाद आदिबाट पछाडि हट्नु हुन्न । मिहिनेत र कर्मठताले गर्दा कामधन्धामा प्रगति र विकास हुनेछ । सञ्चार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । तर दोस्रो भावमा मङ्गल ग्रह रहेकाले आर्थिक दृष्टिकोणले यो समय राम्रो होइन । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । आफ्नै राशिमा बसेको राशिस्वामी मङ्गलको प्रभाव मिश्रित रहने सङ्केत छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । तर कतिपय परिस्थितिमा इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । पारिवारिक झमेला बढ्नसक्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते त्यति अनुकूल दिन रहने छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सूर्यको प्रभाव तृतीय भावमा रहने भएकाले यो महिना पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि यो समय राम्रै छ । तर राशिस्वामी बृहस्पतिको प्रभाव बाह्रौं भावमा रहने देखिन्छ । त्यसैले कर्मप्रतिको लगनशीलतामा कमी आउने छ । व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । जतिसक्दो यात्राबाट जोगिनु बेस हुनेछ । स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुनसक्छन् । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ । राशिमा नै रहेको शनिको प्रभाव पनि राम्रो देखिंदैन । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राशिस्वामी शनि बाह्रौं भावमा रहेकाले मिश्रित प्रभावका साथमा फाल्गुन महिनाको प्रारम्भ भएको छ । साथीभाइले होच्याउने प्रयास गर्नेछन् । दैनिकी सञ्चालनका क्रममा अवरोध सिर्जना हुनेछ । मुद्दामामिला र कानूनीफन्दामा फँस्ने सम्भावना छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन । खानपान र आहारविहारको कमीले पाचनप्रणालीमा गडबडी आउन सक्छ । सूर्यको धनस्थानमा रहेको प्रभावका कारण तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । डराइहाल्नु पर्ने परिस्थिति पनि बन्दैन, सूर्यका साथमा बसेको भाग्येश बुधले सिर्जना गरेको बुधादित्य योगका कारण आर्थिक रूपले यो समय कमजोर रहने छैन । दीर्घकालीन लगानीका लागि उत्तम समय छ । भ्रमणबाट लाभ हुनेछ । दार्शनिकता प्रति झुकाव बढ्ने छ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । तर राशिस्वामी शनि बाह्रौं भावमा रहेकाले धेरै हौसिनु पनि राम्रो होइन । यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, २६, २७ र २८ गते तपाईंका लागि अनुकूल हुने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राशिमा प्रवेश गरेको सूर्य र राज्यस्थानमा रहेको राशिस्वामी शनिश्चर ग्रहको प्रभावले यो समय धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । आफ्नै राशिमा बुधादित्य योगको सिर्जना भएकाले महिनाको पूर्वार्द्धमा अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । पारिवारिक जीवन संतोषप्रद रहनेछ । यद्यपि कामको बोझ धेरै नै हुन्छ , तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३०, गते तपाईंका लागि अशुभ रहने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अनुकूल समय छैन, यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त र्गाुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । यस महिनाको उत्तरार्द्धमा आफ्नै राशिमा बुध र शुक्रको प्रवेश हुने र भाग्यमा बृहस्पति रहेकाले महिनाको उत्तरार्द्ध पूर्वार्द्धका तुलनामा निकै राम्रो रहने सङ्केत छ । खासगरी तपाईंका लागि यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते अशुभ रहने भएकाले ती दिनमा धैर्य, अनुशासित र संयम हुनु वाञ्छनीय छ ।
-ज्योतिषसाथि बाट साभार



