विष्णुप्रसाद पोखरेल
दमक । झापा दमक १ का ९२ बर्षिय भीमप्रसाद आचार्यलाइ आफ्नो रक्तचाप(ब्लड प्रेसर) नियमित जाँच्नु पर्छ फेरबदल भइरहन्छ भन्ने लागेको थिएन ।
जब दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा आएर आफूजस्ता जेष्ठ नागरिकले स्वास्थ्यकर्मीबाट रक्तचाप नापेको देख्नु भयो त्यसपछि उहाँले पनि शुरु गर्नु भयो । अहिले उहाँ हरेक सातामा एकदिन आफ्नो रक्तचाप जाँच गर्नु हुन्छ । विहिबार उहाँको रक्तचाप १३०/८० रहेको थियो ।
हरेक विहिबार उहाँजस्ता धेरै जेष्ठ नागरिकहरु आफ्नो रक्तचाप जाँच गर्नका लागि प्रतिष्ठानको परिसरमा आउने गरेकाछन् । जहाँ लामो समयससम्म स्वास्थ्य संस्थामा सरकारी जागिर गरेर अवकाश पाउनु भएका पुराना स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइले जेष्ठ नागरिकहरुलाइ निशुल्क परामर्श एवं रक्तचाप जाँच गर्ने अभियान शुरु गर्नु भएको छ ।
बि.स. २०३७ सालदेखि २०७३ साल जेष्ठसम्म पूर्वाञ्चल बिकास क्षेत्रका १६ वठा जिल्लामा स्वास्थ्य संस्थाहरुमा जागिर खानु भएका उहाँले जागिरबाट अवकाश पाएसंगै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच अभियान शुरु गर्नु भएको पाईएको हो ।
झापा दमक ६ निवासी भट्टराइले सरकारी जागिरबाट अनिवार्य अवकास पाउनु भएसंगै छ ७ महिनाअघि देखि जेष्ठ नागरिकलाइ परामर्शदिने, निशुल्क स्वास्थ्य जाँच गर्ने अभियान शुरु गर्नु भएको हो । उहाँकी श्रीमति तीलमाया काफ्ले भट्टराइले पनि साथ दिइरहनु भएको छ ।
भट्टराइका अनुसार दमकको जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा हरेक विहिबार आफै गएर त्यहाँ आउनु भएका सबै जेष्ठ नागरिकहरुको समस्या सुन्ने, रक्तचाप जाँच गर्ने र परामर्श दिने गरिएको हो ।
आर्थिक रुपमा अति बिपन्न र औषधि खान नसक्ने बिरामीहरुका लागि औषधि उपलब्ध गराउने, रगत जाँच लगायत पनि आफूले आफ्नो क्लिनिकमा निशुल्क गराइदिने गरेको भट्टराइले जानकारी दिनु भयो ।

हरेक विहिबार नयाँनयाँ जेष्ठ नागरिकहरु प्रतिष्ठानको कार्यालयमा जाँच र परामर्शका लागि आउने गरेको पाईएको छ । स्वास्थ्यकर्मी भट्टराइले भन्नुभयो–‘धेरैजसो बुबाआमाहरुले शुरुमा मान्नु हुने थिएन, अहिले भने उहाँहरु आफै जाँच गरिदिनु परेयो भन्दै आउनुहुन्छ ।’
लायन्स क्लव अफ माउण्ट एभरेष्ट, दमक जेसिज लगायतका संस्थाहरुमा लागेकाले आफूलाइ सकेको सेवा गर्नु पर्छ भन्ने लागेर आफ्नो तर्फबाट यो अभियान शुरु गरेको भट्टराइको भनाइ रहेको छ ।
जेष्ठ नागरिक बुबाआमाहरुले आफूले आफ्ना समस्याहरु खुलेर भन्ने गरेको र यसरी उहाँहरुसंग बस्दा मन प्रफुल्लित हुने गरेको भट्टराइले बताउनु भयो । जेष्ठ नागरिकको फोन आउदा तत्काल जानका लागि उहाँले एउटा बेग्लै झोलामा एकथान रक्तचाप नाप्ने यन्त्र (बिपि सेट)र रक्तचापको औषधि राख्नु भएको छ ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष सीताराम खतिवडाका अनुसार स्वतस्फूर्त रुपमा आफ्नै नीजि पं्रयासमा जेष्ठ नागरिकहरुका लागि भट्टराइले अनुकरणिय काम शुरु गर्नु भएको छ ।
यसबाट प्रतिष्ठानमा आउने जेष्ठ नागरिकहरुले धेरै राहत पाएको पनि खतिवडालले जनाउनु भयो । दैनिक प्रतिष्ठानमा ५० जनाभन्दा जेष्ठ नागरिकहरु एक अर्काको अनुभव आदानप्रदान गर्नका लागि आउने गर्छन् ।
लायन्स क्लव अफ माउण्ठ एभरेष्टका अध्यक्ष रुद्र गौतमले भट्टराइले देखाएको महानता सबैका लागि अनुकरणिय भएको बताउनु भयो । निस्वार्थ रुपमा यस प्रकारको सेवा गर्ने मानिसहरु कमै पाइने उहाँको भनाइ छ ।



