आज पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली मनाईदै छ । धुमधामका साथ मनाइने होली पर्वको तराईमा अलगै विशेषता रहेको छ ।
पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु तथा अन्य विविध जातजाती लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् । सांस्कृतिक पर्व होलीका महत्व आफ्नै किसिमको छ । तराईमा नाचगान गर्दै एकआपसमा रङ साटासाट गरेर होली मनाउने गरिन्छ । यद्धपि पछिल्लो समय तराईमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ ।
यो मौलिक गीत मधेसका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो तर आधुनिक आगन्तुक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ । अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने होलिकालाई दहन गर्ने चलन छ । मिथिला भुमीमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ ।
यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजनहरु गाईन्छ । सरकारले तराईमा आज सार्वजनिक विदा समेत दिएको छ ।



