काठमाडौं : मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या गरिएको रहस्य खुलेको छ। प्रहरीले घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो।

शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाले घटना अनुसन्धानको लागि डीएसपी प्रजित केसीको कमाण्डमा टोली खटाएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फागुन १५ गते शाक्य अपहरणमा परेका थिए। प्रहरी टोलीले शनिबार मोरङ विराटनगरस्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको छ।

शाक्यको हत्या गरी गाडीको डिकी भित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अवस्थामा प्रहरीले शव फेला पारेको जानकारी डीएसपी केसीले दिए।

प्रहरीले घटनामा संलग्न काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको छ। उनीहरुलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ बुझाइएको छ।

अन्नपूर्ण पोस्ट बाट