हराएको ३३ केजी सुन पत्ता लगाउनका लागि उर्लाबारी नगरपालिका ७ का ३५ वर्षीय सनम शाक्यको जंगलमा करेन्ट लगाएर गिरोहले हत्या गरेको खुलेको छ ।
१४ फागुन देखि अचानक घरबाट हराएका शाक्यलाई गिरोहले मोरङको उर्लाबारी १ स्थित जंगलमा लगेर करेन्ट लगाउँदै गायब भएको साढे ३३ केजी सुन पत्ता लगाउने क्रममा हत्या गरेको खुलेको हो ।
अबैध सुनको ओसार पसारमा संलग्नसनमलार्ई गिरोहले अपहरण गरेर सिरहाको लहानमा लगेर बन्धक बनाएर राखेको थियो ।

काठमाडौंबाट आएका सुन कारोबारका नाईकेसँगको भेटपछि पनि सुनको रहस्य नखुलेपछि शाक्यलाई गिरोहले अन्य दुई जना साथीसहित उर्लाबारी नगरपालिका १ स्थित उत्तरतर्फको कान्छि चौक आसपासको सोल्टि खोलाको किनारको जंगलमा लगेर करेन्ट लगाएर कुटपिट गर्दै यातना दिएको थियो । होलीको अघिल्लो दिन र होलीको दिन उनीहरु जंगलमा बियर र रक्सी खाँदै दिनभर जंगलमा यातना दिएर सोधपुछ गरेको र राती ईटहरी आसपासको होटलमा बास बस्ने गरेका थिए ।
सनमको शव वेपत्ता बनाउने जिम्मा जीप चालकलाई दिइएको थियो ।
होलीको दिन यातना दिने क्रममा मृत्यु भएपछि १९ फागुनमा शव ठेगाना लगाउन जीप चालक काभ्रेको देउपुर गापा १२ का २९ वर्षीय टेकराज मल्ललाई जिम्मा दिइएको थियो । त्यसपछि उनले शव बोर्डरमा लगेर ठेगान लगाउन बिराटनगरतर्फ आउने क्रममा प्रहरीले टेकराजलाई नियन्त्रणमा लिएर शाक्यको शव बरामद गरेको थियो । प्रहरीका अनुसार नरेन्द्र र मोहन दुवै जना सुमनका सहयोगी हुन् । गिरोहले उनीहरुलाई पनि जंगलमा लगेर यातना दिएका थिए । जीपको ब्याट्रीबाट तार तानेर उनीहरुलाई करेन्ट लगाउने काम चालक मल्लले गरेका थिए ।

सुनको अबैध कारोबारमा ठूलो गिरोह सक्रृय रहेको र उनीहरुको खोजी भैरहेको एसपी अरुण बिसीले बताए । उनले भने, ‘पुर्वमा सुनको तस्करीमा को को संलग्न छन् भन्ने हामीले नाम संकलन गरिसकेका छौँ क्रमश सबैलाई पक्राउ गर्ने छाैँ ।’
बिराटनगर महानगरपालिका ३ पोखरिया क्षेत्रको दुर्गाचौकबाट प्रहरीले बिशेष सूचनाका आधारमा गुडिरहेको बा १२ च ५९६३ नम्बरको स्कारपियो जीपलाई घेरा हालेरजीप भित्र लुकाएर राखेको शाक्यको शव फेला परेको थियो । शव डिकी भित्र तौलिया र मेट्रेसमा बेरेर लुकाएर राखिएको थियो । शव ठेगान लगाउन चालक मल्लले एक दिनभरि गाडीमा राखेर डुलाएका थिए । तर उचित स्थानको अभावमा उनले शव लुकाउन सकेका थिएनन् ।
सुन तस्करीमा सहभागी भरिया सनम शाक्य अपहरणमा परेको जानकारी पाएर फलो गर्दै आएको काठमाडौंस्थित प्रहरी अपराध महाशाखा टेकु र मोरङबाट खटेको प्रहरीको टोलीले घटनामा संलग्न थप मे १ ज ५३३५ नम्बरको टाटा जेनन जीप सहित करेन्ट लगाउन प्रयोग गरिएको व्याट्री, मोवाईल र बन्दोबस्ती समानहरु शनिवार रातीनै जंगलमा छापा मारेर बरामद गरेको थियो ।
पक्राउ परेकाहरुलाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दा
पक्राउ परेकाहरुलाई प्रहरीले संगठित अपराध तथा कर्तव्य ज्यान आरोपमा मोरंग अदालतमा म्याद थप गराएको छ । हाल तीन जना बिरुद्ध सात दिनको म्याद थप गरिएको र क्रमश पक्राउ पर्दै जानेहरुलाई पनि मुद्दा दर्ता गराउने बताए । घटनामा अरु को को संलग्न छन् र मुख्य नाइके को थिए भन्नेबारे प्रहरीले खुलाउन चाहेको छैन ।
– ईनया पत्रिका बाट साभार



