काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, “लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश जहाँ भए पनि पक्राउ पर्ने गरी काम गर्नुहोस् । राजनीतिक संरक्षण भए पनि तिनलाई नछाड्नुहोस्।”

उनले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिए।

लागुऔषधका कारण पारिवारिक सम्बन्ध बिग्रिरहेको तथा समाजलाई समेत दूषित बनाइरहेको उनको भनाइ छ।

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा करिब दुई लाख कडा लागुऔषधका प्रयोगकर्ता रहेको तथा बर्षेनी ११ प्रतिशतका दरले त्यसमा वृद्धि भइरहेको तथ्यांक प्रस्तुत गरेका थिए। रासस