विष्णुप्रसाद पोखरेल दमक । दमक उद्योग बाणिज्य संघको मातहतमा रहेको इलम प्रशिक्षण केन्द्रको हराएको जग्गा खोज्न शुरु गरिएको छ । दमक ८ मा श्याम श्रेष्ठले प्राविधिक शिक्षालय सञ्चालन गर्नका लागि १० कठ्ठा जमिन १३ बर्ष अघि दान दिएकोमा अहिले साढे ७ कठ्ठा मात्र भेटिएको भन्दै यसमा सबैको चासो गएको थियो ।

 प्रमाण सहित समचार आएपछि दमक उद्योग बाणिज्य संघ, जग्गा दाता, नापी कार्यालय लगायतको ध्यान केन्द्रित भएको थियो । सोमबार नापी कार्यालयले नापी सर्वेक्षक परमेश्वर ठाकुरलाइ जग्गा नाँपका लागि पठाएको जनाईएको छ । जग्गा नाँप जाँच गर्दा ८ कठ्ठा १२ धुर जमिन पुगेको र अझै १ कठ्ठा भन्दा बढि जग्गा हराइरहेको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले नाँप÷जाँच हुँदा पनि अहिले बाणिज्य संघको धनीपुर्जा बमोजिम जग्गा फेला नपरेको बताउनु भयो । उहाँले धनीपुर्जा बमोजिमको जग्गा प्राप्तीका लागि आफूहरु लागिरहेको र यसै क्रममा सर्वपक्षिय सहभागितामा सोमबार नाँप भएको उहाँको भनाइ रहेको छ ।

पुरानो नक्सामा १२ कठ्ठा, धनीपूर्जामा १० कठ्ठा र हाल साविक गरिएको जग्गामा साढे ७ कठ्ठा जमिन भएको जनाउदै वास्तविक जग्गा खोज्न आफूहरुलाइ धेरै समस्या भएको इलम प्रशिक्षण केन्द्र भौतिक निर्माण समितिका संयोजक एवं दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताउनु भयो । जग्गा खोज्नका लागि सरोकारवाला सबै निकायहरुसंग पहल गर्ने क्रममा नै प्रारम्भिक चरणको नाँप भएको पनि जनाउनु भयो ।

उहाँका अनुसार अहिलेसम्म जग्गाको याकिन अवस्था पत्ता नभएकाले केन्द्रको भौतिक निर्माणका लागि आफूहरुले जुटाएको ३० लाखको काम समेत गर्न नसकिएको उहाँले जनाउनु भयो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, वडा नं. ८ का वडाध्यक्ष पशुपतिराज गौतम, दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लगायतका सरोकारवालाहरु सोमबार विहान इलम प्रशिक्षण केन्द्रको जग्गा समस्या सुल्झाउनका लागि भेला भएका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघ, दमक उद्योग बाणिज्य संघ र सिटिइभिटिको त्रिपक्षिय सम्झौताको आधारमा पूर्वको प्राविधिक शिक्षालयको रुपमा इलम प्रशिक्षण केन्द्र सञ्चालन गर्ने सम्झौता पश्चात जग्गादाता श्याम श्रेष्ठले केन्द्रका लागि १० कठ्ठा जग्गा दान दिनु भएको थियो ।

पूर्वपश्चिम राजमार्ग दक्षिण चक्रपथसंग जोडिएको बहुमुल्य पर्ने उक्त जग्गा अहिलेसम्म संरक्षण र घेराबारा समेत हुन सकेको छैन । आफूले दान गरेको जग्गामा आफ्नो कुनै लोभलालच नरेहेको जनाउदै मिलाइ दिन आग्रह गर्नु भएको थियो । २०६१ साल फागुन १३ गते इलम प्रशिक्षण केन्द्रको नाममा कित्ता नं. ११२७ को ९ कठ्ठा १७ धुर र कित्ता नं. ११२५ को ३ धुर जग्गा गरेर जम्मा १० कठ्ठाको धनीपुर्जा रहेको छ ।

अहिले १० कठ्ठा जमिनमा समेत बाटो परेको पाइएपछि उद्योग बाणिज्य संघका पदाधिकारीहरु समेत अन्योलनमा परेकाछन् । अब सर्वपक्षिय रुपमा छलफल गरेर समस्या सामधान गर्ने तयारी भइरहेको संघका तृतिय उपाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनु भयो ।