काठमाडौं २९ फागुन– सोमवार भएको युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्तहरु शव बुझ्न अस्पतालमा छन् । कति वेला भक्कानिन्छन्, कतिवेला सम्हालिन्छन् ।

मंगलवार शिक्षण अस्पताल परिसरमा एकजना महिला भक्कानिदै आइन् । उनी थिइन् पार्वती अधिकारी । तनहुको दमौलीबाट दाजूलाई भेटन् आएकी । सोमवारको विमान दुर्घटनामा उनका दाजु हरि शंकर पौडेलको निधन भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्धार गरेर शुरुमा काठमाडौं मेडिकल कलेजमा राखिएका उनको उपचारका क्रममा निधन भएको थियो । तर बहिनी पार्वती लगायत उनका परिवारले मृत्युको खबर पत्याउन सकेका छैनन् ।

‘दाईलाई नभेटेको धेरै भएको थियो । मलाई त विदेश गएको थाहा पनि थिएन । छोरा–छोरीले मामा विदेश गएको भनेर बताएका थिए’ शिक्षण अस्पतालमा भावविह्वल हुँदै पार्वतीले भनिन्, ‘अब भेट्न नपाउने भए ।’

हरि शंकरका दाजु हरिचरण पनि शिक्षण अस्पतालमा टोलाइ रहेका छन् । ‘हिजो नै फोन गरेको थियो । ३ बजे काठमाडौं आउछु र गाडी लिएर भाउजुलाई भेटन आउछु भनेको थियो’ दाजु हरिचरणले लोकान्तरसँग भने, ‘खुट्टा भाचिएर घरमा बसेकी भाउजुलाई भेटन आउछु भनेको थियो, तर यस्तो दुखद् घटना भयो ।’

सोमवार दुर्घटनामा परेको विमान बंगलालाई नेपालमा ल्याउनमा पौडेलको भूमिका थियो । ‘भाइ महिनामा २० दिन जति बाहिर रहन्थ्यो । कहिले युरोप कहिले अमेरिका’ दाजु हरिचरणले भने, ‘ढाकाबाट फ्लाइट ल्याउनु पर्छ भनेर लाग्ने उही थियो । युएस बंगला ल्याउनुमा पनि उसको ठूलो भूमिका छ ।’