विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ।
उनले आफ्नै पसलमा राखेका ‘बाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो। गत फागुन २० गतेदेखि बेपत्ता बनेका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा पुर्याएर हत्या गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराएको हो।
घटनामा संलग्न भएको भन्दै ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित विर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा– ८ घर भई विर्तामोड– ३ सैनिक मोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाँका र संगठित अपराधअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको बताइएको छ। उनी ऋद्धिसिद्धि ज्वेलर्समा ‘वाउन्सर’का रुपमा कार्यरत रहेको बताइएको छ।
प्रहरीले उनीहरुका साथबाट घटनामा संलग्न भएको एक थान स्कुटर र सुनका गहरगहना, सिमसहितका ६ थान मोबाइल सेटसमेत बरामत गरेको प्रहरी उपरीक्षक केसी बताउनुभयो। घटनामा संलग्न अन्य व्यक्ति पनि रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नमध्ये ओलीलाई प्रहरीले तेह्रथुमको संग्रान्ती बजारबाट सोमबार नियन्त्रणमा लिएको जनाएको छ।
गत फागुन २० गते श्रीमतीलाई मार्केट पुगेर आउँछु भन्दै हिँडेका उनी एकाएक बेपत्ता भएका थिए। बेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार मात्र शव फेला परेको थियो। उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।
यता सुन व्यवसायीको हत्याको विरोधमा मंगलबार विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विर्तामोड बजार बन्द गराएका थिए। (रासस)
यसरी भयो मुखियाको हत्या
ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले सुन किन्ने वहानामा साजनलाई बिर्तामोडस्थित एभरेष्ट वैंक नजिकैबाट बिर्तामोड –५ वस्ने रुप नारायण दाहालको नाममा रहेको मे ७ प ८७५४ नम्वरको स्टुरको पछाडि राखेर पारस आफैंले बिर्तामोड–५ तमु टोलमा रहेको आफ्नो खाली घरमा पु¥याएका थिए ।
सोही घरको पहिलो तलाको उत्तर तर्फ रहेको कोठामा लगेर उनलाई वन्धक बनाई प्रकाश भनिने चिरञ्जीवी ओली , दिपेश पौडेल र पारसकुमार देवले सुनियोजित तरिकाले मुखियालाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मुखियालाई हत्या गर्न काटुन वाध्न प्रयोग गरिने प्लाष्टिकको सेतो चोया डोरीले दुवै हात पछाडि बाधेर मुखियाको घाटीमा सोही प्लाष्टिकको डोरीले वाँधेर हत्या गरेको र उनको साथमा रहेको नगद, सुनको ढिक्का, सुनका गहरगहना लुटेको प्रहरीले जनाएको छ ।
फागुन २० गते १ः ३० वजे पारससंग हिँडेका साजनलाई दुई घण्टा भित्रमा हत्या गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको झापाका प्रहरी प्रमुख केशीले बताए । उनले भने–मुखियाको लासलाई जुटको वोरा भित्र हालेर सोही दिन साँझ भारतीय नम्वर प्लेटको गाडीमा राखेर शनिश्चरे रोड हुँदै सिधै वुधवारे निकालेर इलाम तर्फ लगिएको थियो ।
मेची राजमार्ग अन्तरगत इलाको रोङ गाउँपालिका ३ मा रहेको ठाडो भीरबाट साजनको लास वोरा सहित फालिएको खुलेको छ । साजन र पारस अत्यन्त नजिकका साथी रहेकाले कसैले आशंका नगर्ने दृष्टिकोणले हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
पारस र साजन साथी मात्र नभई दुवै जना सुनको कारोवार गर्ने र साजन छोटो समयमा अधिक आर्थिक उपार्जन गर्न सफल भएका कारण पारसको व्यवसायमा क्रमिक गिरावट आएपछि विवाद हुँदै आएको र साजनको हत्या गरेका आफ्नो व्यवसाय फस्टाउने धेयले पारसले चिरञ्नीवी र दिपेश लगायतलाई पैसा दिई उनको हत्या गर्न लगाएको खुलेको प्रहरको भनाई छ । पारसले लामो समयदेखि साजनको हत्या गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जाएको छ ।



