– विनोद ढकाल
मेडिकल शिक्षाको अध्ययन गर्नका लागि बंगलादेश पुगेका नेपाली विद्यार्थीको चिहान बन्यो त्रिभुवन विमानस्थल । त्यो चिहानको चित्रसँग खै कसले के सोध्यो होला र ? बारम्बार मेरा मस्तिष्ककमा टेनिस बलजसरी ठोक्किरहेको एउटा प्रश्न बन्यो– किन नियतिले ठग्यो यी नेपाली भविष्यलाई ? त्यही चिहानबाट उठेर एउटा लासले सोध्ला– किन बंगलादेश पठाइयो मलाई पढ्न । अर्काले सोध्ला कसका कारणले पुग्यौं हामी त्यहाँ । अरूका अनेक प्रश्न आउलान् । अब, कोही जान नपरोस् विदेशतिर यसरी लास बनेर भविष्य फर्किन्छ भन्ने सुझाव पनि आउनसक्छ । सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा अध्ययनरत १४ नेपाली विद्यार्थी एक महिने विदा मनाउन नेपाल आउँदै गरेका थिए । यी मध्येका केही लासमा प्रश्नहरू घेरिएका छन् । उत्तरहरू विभिन्न ठाउँमा निकृष्ट आधारमा हिँडिरहेका छन् ।
सामाजिक सञ्जालमा कतिपयले प्रश्न गरिरहेका छन्– नेपालमा मेडिकल शिक्षा पढ्न पाएको भए आज यी कर्णधार लास बनेर सनाखतका लागि डिएनए परिक्षणसम्मको भवितव्यमा पुग्ने थिएनन् । ती लास शिक्षण अस्पतालको लासघरमा मरेपछि पनि परिचयको खोजीमा लडिरहेका छन्, जहाँबाट निरन्तर गोविन्द केसी अनशनका लागि बारम्बार चेतावनी दिइरहेका हुन्छन् ।
यो मृत्यु नेपालमा खुल्न नसकेका मेडिकल कलेज, अनुमति पाउन रोकिएका मेडिकल कलेजको नियतिसँग जोडिन्छ । यो मृत्यु डा. गोविन्द केसीले खुल्नबाट राज्यलाई रोक्न दिएको बारम्बारको भोक हड्तालको आन्दोलनसँग सम्बन्ध राख्छ । यो नियति डा. केसी एक्लैको मागका कारण निरीह बनेको राज्यको निर्णयसँग संयोगमा जोडिन्छ । यी भविष्यले विमान जल्दै गर्दा संयोगले बाँचियो भन्ने आधार पाएनन् । सामाजिक सञ्जालमा कतिपयले प्रश्न गरिरहेका छन्– नेपालमा मेडिकल शिक्षा पढ्न पाएको भए आज यी कर्णधार लास बनेर सनाखतका लागि डिएनए परिक्षणसम्मको भवितव्यमा पुग्ने थिएनन् । ती लास शिक्षण अस्पतालको लासघरमा मरेपछि पनि परिचयको खोजीमा लडिरहेका छन्, जहाँबाट निरन्तर गोविन्द केसी अनशनका लागि बारम्बार चेतावनी दिइरहेका हुन्छन् । उनको अर्को चेतावनी फेरि पनि आएको छ । अब उनले संसदलाई चुनौति दिएका छन् । उनको माग छ– प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाइयोस् । नत्र अनशन बस्नेछु !
भोक हड्ताल केसीका लागि फगत हतियार बनेको छ राज्यलाई निरिह पार्ने । विवादको घेरामा आफूपनि उभिएका गोविन्द त्यहि विषयमा अनशन बस्दैछन् जुन अभियोगको सामना उनले पनि गरिरहेका छन् । प्रधानमन्त्री केपी ओली, त्रिभुवन विश्वविद्यालय बोर्डमा उनको जन्ममितिका विषयमा पनि उजुरी परिसकेको छ । यस्तो विवादित मान्छेको यो चेतावनीपूर्ण भोक हड्तालको अर्थ र रहस्य के हुनसक्छ ? यदि उनको भोक हड्तालको यो चेतावनी जायज हो भने त्यहि अभियोगको सामना गरिरहेका गोपाल पराजुली कसरी नाजायज हुन सक्छन् ? विधि र कानुनको सवाल हो, यो । न गोविन्दसँग सरोकार न गोपालसँग सरोकार छ । आम नागरिक र विधि र कानुनलाई मान्यता राख्ने भएकाले यो प्रश्न विधिको शासन लागु गर्ने राज्यसँग हो, जसको बागडोरको जिम्मा एमाले अध्यक्ष केपी ओलीले लिइसकेका छन् ।
विश्वमा भोक हड्तालको एउटा नियम हुन्छ । यसको परिधि हुन्छ । भोक हड्तालमा मर्नसक्ने क्षमता चाहिन्छ । नन्दप्रसाद अधिकारी बन्न पनि नचाहने अनि भोक हड्तालका नाममा बारम्बार राज्यलाई तर्साउने खेल कदाचित समर्थनका निम्ति स्वीकारयोग्य ठहरिँदैन । भोक हड्ताल किस्ताबन्दीको आन्दोलन पनि होइन । आन्दोलन कहिले पनि किस्ताबन्दीमा हुँदैन । ०४६ सालको आन्दोलन किस्ताबन्दीको थिएन । ०६२/६३ को आन्दोलन पनि किस्ताबन्दीको थिएन, रोकिएन ।
डा. केसी १३ पटकको किस्ताबन्दीको आन्दोलनमा आफूलाई उभ्याइरहेका छन् । मर्नसँग डराउनेले कसरी न्यायको गीत गाउन सक्छ ?
हामीलाई अधिकार चाहिएको छ भने आन्दोलनको गति रोकिन हुँदैन । तर, डा. केसी १३ पटकको किस्ताबन्दीको आन्दोलनमा आफूलाई उभ्याइरहेका छन् । मर्नसँग डराउनेले कसरी न्यायको गीत गाउन सक्छ ? कसरी अधिकारको लय पकड्न सक्छ । कसरी असल समाजको गतिलाई तिव्रता दिन सक्छ ? राज्यको परिधि नाघेर गरिएको हिसाबकिताबमा नियतमात्रै लुकेको हुन्छ, नियति लुकेको हुँदैन । तर, सत्याग्रह भनेको नियतिको आन्दोलन हो, नियतको होइन भन्ने डा. केसी र उनका समर्थकले बुझ्न पर्छ । एउटा भोकमात्र भोक हड्ताल होइन । भोक भगवानसँग जोडिएको विषय हो । यदि भोक हड्ताल हुन्छ भने त्यो भगवानसँग आफ्ना मागको आधार बन्न सक्नुपर्छ । तर यहाँ डा. केसीलाई भगवान बनाइएको छ, भोकलाई किस्ताको हतियार । यो नियत हो कि नियति पाठकको छुट्याउने जिम्मा ।
डा. केसीको जन्ममितिका विषयमा आएका कुरामा माफी हुने र अरूलाई कारबाही हुनुपर्छ भन्ने मान्यता राख्ने नेपालको प्रायोजित नागरिक समाजका अगुवाले बुझ्नुपर्छ– विधिको साशन सबैका निम्ति हुन्छ । गोपाल पराजुली गलत हुन सक्छन् तर उनको गल्तीले सजाय भोग्नुपर्ने, डा. केसीको गल्तीले माफी पाउनुपर्छ भन्नेहरूको मगजले न्याय र अन्यायको नागरिक आवाजको प्रतिनिधित्व गर्न सक्तैन । ठूला मिडियाले पनि आफु अनुकुलतामा यस्ता विषयलाई जानाजान प्रायोजन गर्नुका पछाडिको कारण के हो ?
डा. केसीले सत्याग्रह भ्रमको टाकुरामा उभिएर राज्यलाई भुरो बबुरो देख्न थालेका छन् । सोहीकारण उनले गलाएको कार्यपालिका अब उनका सामु निरिह छ । उनले न्यायपालिकामाथि भयंकर हमला गरे जुन सडकसम्म अहिले बहसको विषय बनिरहेको छ । त्यतिमात्र होइन, उनले न्यायपालिकाको धम्कीलाई निरन्तरता दिँदै संघीय संसदलाई अब ललकारेका छन् । पराजुलीलाई महाअभियोगबाट कारवाही नभए अनशन बस्ने घोषणाबाट । राज्यका तीनै अंग गलाउने एउटा कर्मचारीलाई छुट किन दिइरहेको राज्य ? डा. गोविन्द केसीलाई सुझाव छ । नुवाकोटका गरिबलाई राज्यको सिटामोल सित्तैमा बाँडेर समाजसेवा हुँदैन । तपार्इंले बाँड्नुपर्दैन त्यसका लागि प्रत्येक स्थानीय तहका कार्यपालिकामा उपस्वास्थ्यचौकी छन् । तपार्इंले साँच्चै समाजसेवा नै गर्ने ध्येय राखेको, राज्यलाई सिधा उभ्याउने प्रयत्न गरेको हो भने त्रिविको जागिर छाड्नुस्, नागरिक समाजमा आउनुस् र अनशन थाल्नुस् । अन्ना हजारेको शैली अपनाउनका लागि अन्ना हजारेको जीवन बाँच्न सक्नुपर्छ । पद पनि लिने, पैसा पनि पिउने अनि राज्यका अंगलाई कमजोर बनाउने छुट कुनै केसीलाई छैन, हुनु हुँदैन । मोही मागेर ढुंग्रो लुकाउने प्रवित्तिको आडमा कोही साधु बन्न सक्तैन । अनुयायीका नाममा अनेक उद्देश्यलाई बगलीमा राखेको झुन्डको बलमा डा. केसीको बलमिच्याईको समर्थन गर्न सकिँदैन । डा. केसीको समर्थनमा उभिएर मिडियाको गति बढ्नसक्छ, कोही नेता बन्नसक्छ, विवेकशील नागरिकको पगरी थुत्न सक्छ, राजनीतिक दाउपेचको मुनाफा लिन सक्छ होला । तर, मृत्युलाई स्वीकार गर्न सक्तैन ।
यदि दुई जन्ममितिका भरमा जागिर खाने केसी ठिक हुन् भन्ने लागेर राज्य सम्झौता गर्दै हिँड्छ भने गोपाल पराजुली पनि जायज छन्, नक्कली डाक्टर पनि जायज छन्, नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने सवै कर्मचारी पनि जायज हुन्छन् । हैन भने यी सवै नाजायज हुन्, यिनलाई सत्याग्रह नामको आन्दोलन गर्ने छुट राज्यले दिन हुँदैन ।
आज डा. केसीको पछाडि ठूलो झुन्ड लागेको छ । यदि न्याय र अधिकारकै लागि यो झुन्डको ताँती लागेको हो भने, साँच्चै नै राज्यले झुक्याएको र नागरिकले न्याय नपाएको ठहर भएकै हो भने सामुहिक आत्मदाहको घोषणा गरौं । जनताको अधिकारका लागि लडेको जननेता मृत्युसँग डराउन हुन्न । हरेक दिनको भोक होइन, एक छिनको मृत्युवरणका निम्ति तयार हुन सकिन्छ त ? यसर्थ, राज्यका हरेक अंग कमजोर बनाउनका लागि उद्दत एउटा एलिट सम्प्रदायसँग अपिल छ, कानुनी राज्यमा कानुनको मान्यतामा चलौं । व्यक्तिको इच्छाका भरमा राज्य चल्न सक्तैन, त्यस इच्छाभित्रका परोक्ष षडयन्त्रहरूको पनि हेक्का राखेर भविष्यको संश्लेषण गरौं ।
गलत जन्ममितिका आधारमा पेन्सनसमेत पाउने नियत राखेर, सरकारी जागिरमा अनुबन्धन भएर राज्यविरूद्ध अनशन गर्ने प्राधिकार डा. केसीलाई छैन । तर, उनी गर्छन् । उनको यो अभियानमा सघाउ पुराउने युरोपेली, भारतीय र बंगलादेशी प्रायोजनको सन्दर्भलाई कसले नाजायज ठान्छ ? यदि दुई जन्ममितिका भरमा जागिर खाने केसी ठिक हुन् भन्ने लागेर राज्य सम्झौता गर्दै हिँड्छ भने गोपाल पराजुली पनि जायज छन्, नक्कली डाक्टर पनि जायज छन्, नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने सवै कर्मचारी पनि जायज हुन्छन् । हैन भने यी सवै नाजायज हुन्, यिनलाई सत्याग्रह नामको आन्दोलन गर्ने छुट राज्यले दिन हुँदैन । यिनको आत्माले कति दिन दिँदै जान्छ र ?
-दैनिक नेपाल बाट



