काठमाडौँ : प्रधान मन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको तीन हप्ता हुँदै गर्दा पाकिस्तानी प्रधान मन्त्री शहीद खाकन अब्बासीले नेपाल भ्रमण गरेर फर्किए।
सरकार गठनको एक महिनापछि परराष्ट्र मन्त्रालयले नेतृत्व पाएको छ। योसँगै मन्त्रालय छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमणको तयारीमा जुटेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २०१८ भित्र नै भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन्। सोही अनुसार मन्त्रालयले तयारी थालेको जनाएको छ।
मन्त्रालयका दक्षिण एसिया हेर्ने महाशाखाका एक अधिकारीका अनुसार भारतीय प्रधान मन्त्रीको भ्रमणको विषयमा छलफल भइरहेको छ। भ्रमण कहिले हुने भन्ने निश्चित नभए पनि मन्त्रालयले नेतृत्व पाएसँगै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि तयारीमा जुटेको ती अधिकारीले बताए।
केपी शर्मा ओली प्रधान मन्त्री भएलगत्तै शुभकामना दिन फोन गरेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीलाई उनले पुरानो स्थगित भ्रमणको स्मरण गराउँदै मुक्तिनाथ र जनकपुर दर्शनका लागि आउन निम्ता दिएका थिए।
मोदीले आगामी महिना नेपाल भ्रमण गर्न सक्ने भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका छन्। ‘भ्रमणको तयारी भइरहेको छ, हामीलाई प्राप्त निर्देशन अनुसार हामीले काम थालेका छौँ,’ परराष्ट्रका अधिकारीले भने, ‘उहाँको भ्रमण राजकीय हुने कि अरु कार्यक्रमलाई जोडेर हुने भन्ने निश्चित भइसकेको छैन्।’
यसै वर्ष नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन हुँदै छ। सोही अवसरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरिरहेका छन्।
बिम्स्टेकको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सन् २०१७ को अन्त्यमा शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो। तर, नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन परेका कारण सम्मेलन हुन सकेन।
सम्मेलन यसै वर्ष गर्ने तयारीमा नेपाल रहेको छ। मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाले बिम्स्टेकको शिखर सम्मेलनको तयारी गरिरहेको जनाएको छ। सम्मेलन आयोजनाको मिति तय गर्न आन्तरिक रुपमा सदस्य राष्ट्रहरुसँग छलफल भइरहेको महाशाखाले जनाएको छ।
भारतीय सञ्चार माध्यमले भारतीय प्रधान मन्त्री मोदी आगामी महिना छिमेकी देशहरुको भ्रमणमा निस्किने जनाएका छन्। ‘आगामी महिना छिमेकी देशहरुसँगको सम्बन्धमा प्रधान मन्त्री मोदी व्यस्त हुने छन्,’ इकोनोमिक्स टाइम्सले लेखेको छ, ‘प्रधान मन्त्री मोदी आफ्नो 'नेइवरहुड फस्ट पोलिसी' अनुसार काठमाडौँ र थिम्पुलाई आफ्नो सरकारको समर्थन रहेको देखाउनका भ्रमणको योजना बनाइरहेका छन्।’
चीनले हिमाली राष्ट्रहरुमा प्रभाव बढाइरहँदा वर्षको पहिलो छ महिना अगाडि नै भ्रमणका योजनाहरु बनिरहेको समाचारमा उल्लेख छ। ‘प्रधान मन्त्रीको भ्रमणको मिति तय भइसकेको छैन्। यद्यपि, भ्रमण हुने तय भएको छ। यस विषयमा उनका निकटहरु जानकार छन् र तयारी गरिरहेका छन्,’ समाचारमा अगाडि भनिएको छ।
त्यसभन्दा अगाडि मोदीले नेपालका प्रधान मन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीमा स्वागत गर्ने तयारी गरिरहेका छन्। ‘नेपालका प्रधान मन्त्री केपी शर्मा ओलीलाई उनको पहिलो विदेश भ्रमण स्वरुप नयाँ दिल्लीमा स्वागत गरी बिम्स्टेक सम्मेलनको दौरान मोदी नेपाल जाने छन्,’ समाचारमा भनिएको छ।
यसअघि मोदीले प्रधान मन्त्री भएसँगै सन् २०१४ मा नेपालको दुई पटक भ्रमण गरिसकेका छन्। पहिलो पटक राजकीय भ्रमण गरेका उनले दोस्रो पटक सोही वर्ष सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका थिए। पहिलोपोष्ट










