माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी एकताको प्रगतिबारे छलफल गर्न ललितपुरको खुमलटारमा बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले यस्तो निष्कर्ष निकालेको हो।
पार्टी एकताको सांगठनिक र सैद्धान्तिक विषय मिलाउन गठन गरिएका दुई कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेको थियो। तर, माओवादी केन्द्रले त्यहाँसम्म समय नलगाई प्रधानमन्त्रीको भारत भ्रमण अगावै एकता गर्नेगरी काम अघि बढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री ओली आगामी चैत २३ गते तीनदिने भ्रमणका लागि भारत जाँदै छन्।
‘एकता संयोजनका लागि गठन गरिएको कार्यदलले ७५ प्रतिशत काम सकेको जानकारी गराएका छन्, प्रधानमन्त्रीको भारत भ्रमण अगावै पार्टी एकता गर्ने गरि गृहकार्य गर्ने निष्कर्ष निकालिएको छ।’ बैठकपछि माओवादीका एक नेताले बताए।
बैठकमा माओवादी केन्द्रबाट कार्यदलमा सहभागी सदस्यले सांगठनिक र सैद्धान्तिक विषय मिलाउने काम ७५ प्रतिशत सकिएको जानकारी दिँदै सहमति जुटेका विषयको अन्तिम ड्राफ्ट तयारी अवस्थामा रहेको बताएका थिए।
उनीहरुले कार्यदलको काम सही ढंगले अगाडि बढेको बताउँदै नेतृत्व तहका विवादित विषयमा सहमति खोज्नुपर्ने बताएका थिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता चाँडोभन्दा चाँडो गर्दा राष्ट्र र समग्र पार्टीको हितमा रहेको निष्कर्षसहित युद्धस्तरमा आन्तरिक तयारी सम्पन्न गरिने बताएका थिए।
बैठकले पार्टी एकताको अन्तिम तयारी गर्न चैत १५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको छ।
-नेपाल लाइभ बाट



