सुर्खेत । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना ट्राफिक प्रहरी समेत रहेका छन् । एसईई परीक्षा दिन डेरामा बसेकी पञ्चपुरी नगरपालिका–३, चौर घर भएकी रोकाया मंगलबार डेरामा मृत फेला परेकी थिईन् ।
लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको थियो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो ।
उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए । यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
केन्द्रबिन्दु बाट साभार



