काठमाडौं, चैत १७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनसेलविरुद्ध छानबिन सुरु गरेको छ । लाभकर विवादमा अदालतबाट आफ्नो पक्षमा फैसला गराएको एनसेलमाथि अनेक बहानामा सेवाग्राहीलाई ठगेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अख्तियारका एक अधिकृतका अनुसार एनसेलले विभिन्न सेवा तथा सुविधाको नाममा लाखौँ नेपाली नागरिकलाई ठगी गरेको किटानी गर्दै उजुरी पर्न थालेपछि अनुसन्धान थालिएको छ । एनसेलले विगतदेखि एनसेल सापटी योजना ल्याएको छ । यसमा पहिला २० रुपैयाँ सापटी उपलब्ध गराई रिचार्जपछि सापटी २० रुपैयाँ र अर्को २ रुपैयाँ ५० पैसा गरेर कुल २२ रुपैयाँ ५० पैसा काटेर उपभोक्ता एवं सेवा कर्ताहरूलाई ठगी रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सापटीको नाममा एनसेलले उपभोक्तालाई वैधानिक रूपमा ठगी गरिरहेको दाबी उजुरीकर्ताको छ । उजुरीमा गरिएको दाबीअनुसार २ रुपैयाँ ५० पैसा मात्र काटिएको भए पनि लाखौँ नेपालीलाई दैनिक रूपमा करोडौँ ठगिरहेको छ एनसेलले । ‘सापटी भन्दै अनावश्यक पैसा कटाउनु जघन्य आर्थिक अपराध र भ्रष्टाचार हो भन्ने आधारमा यस विषयमा छानबिन गर्न अख्तियारले विशेष चासो राख्नुपर्छ भन्ने मान्यताको साथ उजुरी आएपछि अख्तियारले पनि छानबिन थालेको हो ।

अख्तियारमा परेको उजुरीमा एनसेलले सञ्चालन गरेको विभिन्न इन्टरनेट डाटा प्याक सेवामा पनि ठगी गरिरहेको छ । एनसेलको दैनिक, त्रिदैनिक, साप्ताहिक, मासिक लगायतका डाटा अफरहरू रहँदै आएका छन् ।

‘डाटाहरूको नाममा पनि लाखौँ ग्राहकहरूबाट करोडौँ रुपैयाँ ठगिरहेको छ । जस्तो कि ऐनसेलको ३० दिने अनलिमिटेड डाटा प्याकमा दिइनेछ भनी ७ सय ८९ रुपैयाँ शुल्क काट्ने गरेको छ, तर अनलिमिटेड भनिए पनि एनसेलले एक जिबी (एक हजार एमबी) कायम रहँदासम्म राम्रोसँग चल्ने तर हजार एमबी सकिएपछि इन्टरनेटको गतिमा ८०-८५ प्रतिशत कमी आउने गरेको छ,’ अख्तियारमा परेको उजुरीमा भनिएको छ, ‘कुनै पनि भिडियोहरू नखुल्ने, नचल्ने आदि भएका छन् । लाखौँ एनसेल प्रयोगकर्तालाई ३० दिने अनलिमिटेड प्याक भन्दै एक हजार एमबीसम्म मात्र चलाउन दिने र त्यहाँपछि सेवामा अवरोध ल्याउने, इन्टरनेटको गतिमा कमी ल्याई सेवा कर्तालाई मानसिक तनाब दिएर पीडा दिएको छ ।’

उजुरीकर्ताले प्रतिवद्घता बमोजिम सेवा नदिई आर्थिक अपराध एवं भ्रष्टाचार गरेकोले गम्भीरतापूवर्कक अनुसन्धान गरी तत्काल कारबाही गर्न माग गरिएको छ । ‘सेवा तथा सुविधाको बाहनामा लाखौँ प्रयोगकर्तालाई ठग्ने धन्दा चलाइरहेको एनसेलको पदाधिकारीलगायतलाई आयोगमा बोलाई यिनलाई अनुसन्धान गरी कडा कारबाही गर्न र यस्ता ठगी कार्यलाई तत्काल बन्द गरी भावी दिनमा समेत यस्ता हर्कत रोक्न आवश्यक पहल गर्नसमेत माग गर्दछु,’ पीडितले दिएको उजुरीमा भनिएको छ । एनसेलको ठगीको विषयमा थुप्रै उजुरी परेपछि अख्तियारले गम्भीरतापूर्वक लिएको हो ।

‘एनसेलले व्यापार गरेर राजस्व नतिर्ने, सेवाग्राहीलाई पनि अनेक योजनामा ठग्ने काम बढेको उजुरी पटकपटक आएपछि आयोग गम्भीर बनेको हो, उजुरीकर्ता आफै एनसेलको प्रयोगकर्ता रहेको भन्दै ठगीका थुप्रै तथ्य राखेपछि छानबिन अघि बढेको हो, अहिले अत्यन्तै प्रारम्भिक छानबिनमै आयोग रहेको छ,’ एक अधिकारीले भने ।

स्रोतका अनुसार एनसेल पदाधिकारी भने उजुरीमाथि छानबिन नगराउन आयोगका कार्यबहाक प्रमुख आयुक्त नविन घिमिरेसँग भेटवार्ता गर्न चाहिरहेको छ । तर, घिमिरेले ठगीको काम गर्नै पदाधिकारीसँग भेटन नै अस्वीकार गर्दै निर्ममतापूर्वक छानविन गर्ने पक्षमा उभिएको स्रोतले बतायो ।