३ पुस । सुनसरीसहित तराई मधेस क्षेत्रमा बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि सुनसरीका एक मुस्लिम गैरसरकारी संस्थाले एक हजार २५ विपन्न परिवारलाई चिसोबाट जोगिनका लागि न्यानो लुगा वितरण गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवा–७ मा रहेको हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट नेपालले सुनसरी, सप्तरी, मोरङ र झापा जिल्लाका एक हजार २५ विपन्न, असहाय, अपाङ्ग, अशक्त वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष मौलाना हारुन खानले जानकारी दिनुभयो ।
विभिन्न जिल्लामा एक कार्यक्रमको आयोजना गरेर उम्माह वेलफेयर ट्रस्ट युकेको सहयोग र हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट नेपालको आयोजनामा कम्बल, महिलालाई उनी कुर्ता सेट र बालबालिकालाई विद्यालय आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले ट्र्याकसुटलगायतका न्यानो लुगा वितरण गरेको आयोजक ट्रस्टले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यस ट्रस्टले उम्माह वेलफेयर ट्रस्ट युकेकै सहयोगमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला गोरखा, काठमाडौँलगायत अन्य ठाउँका भूकम्पपीडितलाई अवास, लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको थियो ।
ट्रस्टले मुस्लिमहरूको धार्मिक पर्व रामजान इफ्तारका लागि खाद्यान्नसमेत गरिब, असहाय, अशक्त, अपाङ्गलगायका परिवारलाई वितरण गर्दै आएको ट्रस्टका कार्यालय सचिव हजरत हुसैनले जानकारी दिनुभयो ।
ट्रस्टले शिक्षा क्षेत्रका साथै शुद्ध खानेपानीका लागि ट्युबवेलसमेत जडान गर्दै आएको छ ।



