बारूलो, अरिङ्गाल आदिले टोक्दा गडेको विषालु काँडो वा आरो ननिस्कदा भित्र सडेर जमेको मासुको डल्लो जस्तो भएको छ, नेकपा एमाले र माओवादी केन्द्र एकीकरणको गति ।
केही दिनअघि मात्र तत्काल एकीकरण टुंगो लगाउने निर्णयसहित विभिन्न तहको सांगठनिक संरचनाको संख्या टुंगो लगाए पनि त्यसमा पदाधिकारीको ढाँचा र कसका कति कसरी राख्ने भन्ने विषयको निकास एकीकरणका लागि गठित कार्यदलले पाएको छैन । जुन, तत्काल एकीकरण घोषणाको ‘खिल’जस्तो देखिएको छ ।
२३ चैतमा भारतको राजकीय भ्रमण अघि नै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकरण घोषणाको मौखि सहमति भएको थियो । तर समयसीमा भित्र ‘एकता घोषणा’ असम्भव देखिएको छ ।
सैद्धान्तिक विषयमा करिब–करिब सहमति भए पनि सांगठनिक संरचना वडादेखि केन्द्रसम्म कस्तो बनाउने भन्नेमा एकीकरणका लागि गठित कार्यदल सहमतिमा पुग्न सकेको छैन । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटिमा दुवै पार्टी सहमत भए तर कसका कति सदस्य रहने भन्नेमा मतभेद टुंगो लागेको छैन ।
तल्लो तहसम्म नै दुई अध्यक्षात्मक सांगठनिक संरचना निर्माण गरी जानुपर्ने माओवादीको प्रस्ताव एमालेले अस्वीकार गरेको छ भने प्रतिशतका आधारमा तल्लो तहसम्मको समायोजन हुनुपर्ने एमाले प्रस्ताव माओवादीले मानेको छैन ।
एमालेले विकल्पमा प्रदेश कमिटिमा संयोजक, सहसंयोजकसहित सचिव, जिल्ला, नगर र वडा कमिटिमा अध्यक्ष र सचिव राख्न प्रस्ताव गरेको छ । यसमा माओवादीले सहमति जनाइसकेको छैन । ‘बाँडफाँटमा कुरा मिलेको छैन । त्यसकारण विभिन्न कमिटिमा कसरी पदाधिकारी राख्ने वा समायोजन गर्ने भन्ने विषयमा समस्या आएको छ’, कार्यदलका एकजना सदस्यले भने ।
एमाले नेता बेदुराम भुसालले माओवादीका तर्फबाट केन्द्रीय कमिटिको संख्या तोक्ने काम मात्र भएको र अन्य विषयमा छलफल हुन नसकेको बताए । माओवादीले कार्यदलमा भन्दा समानताका विषयमा पार्टी एकता संयोजन समितिमा अन्य छलफल हुनुपर्ने बताउँदै आएको छ । माओवादी नेता जनार्दन शर्माले सांगठनिक संरचनाबारे समितिमा छलफल भएपछि एउटा सहमतिमा पुग्न सकिने बताए ।
केन्द्रमा ओली र प्रचण्ड अध्यक्ष रहने र बाँकी सचिवालय गठन हुनेछ । यसै संरचनामा तल्लो तहसम्म जान सकिने प्रस्ताव माओवादीले गरेको थियो । एमालेले त्यसलाई स्वीकार गरेन ।
७ प्रदेश, ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहहरूमा संगठनको ढाँचाका विषयमा सहमति हुन नसकेका कारणले नै ओलीको भारतभ्रमण अघि एकीकृत पार्टी घोषणा हुन नसक्ने नेताहरू बताउँछन् ।
प्रतिशत र संगठनको प्रभावका आधारमा भन्दा पनि एकीकृत पार्टीको नेतृत्व बरिष्ठता, समानताका आधारमा गर्नुपर्ने प्रस्ताव माओवादीले तयार पारिरहेको छ । ‘यसमा सर्वसम्मत ढंगले एकता संयोजन समिति तयार भएपछि मात्र एकीकरण घोषणाको माहौल बन्छ’, एकजना माओवादी नेताले भने,‘एकीकरणपछि एउटा पार्टी बनाउने निर्णयसहित अघि बढेपनि यहि प्राविधिक कुरो कार्यदलमा नमिलेका कारण ‘खिल’ पल्टेजस्तो भएको छ ।’
यसअघि प्रदेश कमिटी १५१ सदस्यीय, जिल्ला कमिटी न्युनतम ७५ सदस्यीय, महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय, नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने निर्णय भइसकेको छ ।
-दैनिक नेपाल बाट



