नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइल नचल्ने बनाउन आवश्यक प्रक्रिया थालिसकेको बताएको छ । प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याल मोबाइल आयातकर्ता संघद्वारा आयोजित एक कार्यक्रममा प्राधिकरणले आवश्यक यसबारे प्रक्रिया थालिसकेको जानकारी दिए । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उपभोक्ताका समस्या समाधानमा केन्द्रित हुन व्यवसायीलाई आग्रह गरे ।
‘भन्सार छलीका मोबाइलबाट राजस्व गुमेको मात्र नभई अपराध नियन्त्रणमा समेत जटिलता थपिएको छ,’ राज्यमन्त्री बास्कोटाले भने, ‘त्यसलाई नियन्त्रण गर्न अनिवार्य रूपमा मोबाइल दर्ता गर्नुपर्ने र दर्ताविनाका मोबाइल चल्न नसक्ने व्यवस्था लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरण क्रियाशील छ ।’
त्यस्तै मोबाइल आयातमा सरकारले दिएको छुटले वैधानिक कारोबारलाई सहयोग गरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बताएका छन् । मोबाइल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘दर्ताबिनाका मोबाइल नचल्ने व्यवस्था लागू गर्न सकिएमा मोबाइलको कालोबजारीले फस्टाउने मौका पाउने छैन, त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ।’
कसरी गर्ने आइएमइआई दर्ता मोबाइलको आईएमइआई दर्ताका लागि सम्बन्धित कम्पनीले प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । सो निवेदन प्राप्त गरेसँगै प्राधिकरणले नो अब्जेक्सन लेटर भन्सारमा पठाएपछि आईएमइआईको अरु प्रक्रिया शुरु गरिने हुन्छ । व्यक्तिगत मोबाइलको हकमा भने प्राधिकरणको वेबसाईटमा उपलब्ध फारम भरेर इमेल ठेगानामा पठाउनु पर्दछ ।
मोबाइल प्रयोगकर्ताले *#06# डायल गरेर आफ्नो मोबाइलको आईएमइआई नम्बर पत्ता लगाउन सक्छन् । साथै मोबाइलमा व्याट्रि राख्ने भागमा र नयाँ किन्दा बक्समा पनि यो नम्बर राखिएको पनि आईएमइआई नम्बर उल्लेख गरिएको हुन्छ । आइएमइआई इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटीको संक्षिप्त रुप हो। हरेक मोबाइलको आइएमइआई नम्बर पृथक हुने गर्दछ। एभरेष्ट दैनिक बाट










