विष्णुप्रसाद पोखरेल
दमक/बुधबार दिउसो एकाएक पूर्व राजा ज्ञानेन्द्र शाह दमकको पशुपति मन्दिरमा आउने चर्चा चल्यो । सुरक्षा निकायलाइ समेत थाहा दिइएको थिएन ।पशुपति मन्दिरमा हरेक सोमबार बिशेष आरती शुरु भएको खबर चिया बगानमा रहेको मिनि दरबार पुगेपछि उनले यहाँ आउने इच्छा प्रकट गरेपछि पशुपति आध्यत्मिक युवा समुहले यसको बन्दोबस्त मिलायो ।
पशुपति मन्दिर ब्यवस्थापन समितिको अध्यक्ष राम थापा नै भएपछि झनै सहज बनेको बताइन्छ । हरेक सोमबार गरिदै आएको बिशेष आरती पूर्व राजाका लागि बुधबार नै भयो ।
पूर्व राजा ६ बजे आउने एककान दूइकान गर्दै फैलिएपछि एकाएक साँझमा दमकको पशुपति मन्दिर परिसर भरिभराउ भएको थियो । थेग्न नसकिने ठानेर आयोजकले यो कार्यक्रम सार्वजनिक गरेको थिएन ।

राजाबादी मानिएको राप्रपाका नेता कार्यकर्ताहरुको मात्र नभएर सबै पार्टीका स्थानीय नेता देखि सामाजिक अगुवाहरुसम्मको बाक्लो उपस्थिति रहेको थियो । स्वागत र माला पहिर्याउन गणतन्त्रबादी भन्नेहरु पनि अघि सरेका थिए ।
https://youtu.be/esZ5PnuzUX0
पूर्व राजाको सम्मान र दमकको गहनाको रुपमा रहेको पशुपति मन्दिरको पहिचानका लागि यो बिशेष आरतीको बिशेष नै महत्व रहने आध्यत्मिक युवा समुहका अध्यक्ष बद्रि बरालले बताए ।
करिब आधा घण्टासम्म मन्दिरभित्र पूर्व राजा शाह र रानी कोमलले पुजाआजा गरेका थिए । कोमलले दीपहरु प्रज्वलन गरेकी थिइन भने ज्ञानेन्द्र शाहले प्रज्वलित आरतीलाइ हातमा लिएका थिए ।
साँझमा कार्यक्रम भएकाले प्रहरीलाइ सुरक्षा मिलाउनका लागि हम्मेहम्मे नै परेको देखिन्थ्यो । बुढापाकाहरुदेखि लिएर युवा पुस्ताहरुको बाक्लो भिड थियो । कतिपयले ज्ञानेन्द्र शाहको जयजयकार पनि गरेका थिए ।
https://youtu.be/esZ5PnuzUX0










