काठमाडौं– नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरे।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेको बताए।।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने बताइन्।

कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ। यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने छ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन।

कमसेकम ३ महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने छ। कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि STATUS लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि STOP लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि START लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ ।

सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।