युएईको जेलमा परेका अनिश खालिङलाई बचाउन संसारभरका नेपालीले संकलन गरेको करोडौंको रकमको हिसाव किताव खोजी हुन थालेपछि अहिले अनिश खालिङ आफै र उहाँको नाममा स्थापित अनिश प्रतिष्ठान संस्था दुवै विवादमा परेका छन् । युएईमा एक पाकिस्तानीलाई मारेको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका अनिश खालिङ राईलाई चाहिने ब्लडमनी जुटाउन ३ वर्षअघि विश्वभरबाट झण्डै ७० हजार जनाले सहयोग गरेका थिए । अनिश खालिङ राई बचाउ अभियान चलाएर ब्लडमनीका लागि चाहिने रकम संकलन गर्न थालेपछि चाहिने ८० लाख रुपैयाँ भन्दा ४ गुना बढी रकम संकलन भएको थियो ।
तर, संकलन भएको रकम ब्लडमनीका रुपमा तिर्नु अघि नै कसैले गुपचुप अनिशको तर्फबाट पाकिस्तानीलाई पुरै रकम तिरि दियो । अभियानको कोषमा जम्मा भएकोमध्ये ८० लाख रुपैयाँ सरकारी खातामा र २५ लाख रुपैयाँ अनिललाई पुनर्स्थापित गर्न खर्च भयो ।
बाँकी रकम अनिशकै नाममा प्रतिष्ठान दर्ता गरेर संस्थालाई हस्तान्तरण गरिएको थियो । संस्थाले दिएको जानकारी अनुसार अभियानका क्रममा ३ करोड २९ लाख ९३ हजार ६०९ रुपैयाँ १४ पैसा संकलन भएको थियो । त्यो पैसा प्रतिष्ठानमा नै छ भन्ने विश्वास धेरैको छ । तर हिसाव किताव के भयो, कति पुग्यो भन्ने चाहिँ धेरैलाई जानकारी छैन । स्वयं अनिशलाई पनि आफ्नो नाममा उठेको सहयोग रकम कहाँ छ र त्यसको हिसाव किताव के कस्तो छ भन्ने प्रष्ट थाहा छैन ।
गएको चैत १७ गते संखुवासभाको चिचिला गाउँपालिका ४ मत्स्यपोखरीस्थित घरमा उज्यालोसित कुरा गर्दै अनिशले भन्नुभयो, ‘पब्लिकले खोजेको स्पष्ट हिसाबकिताब हो भन्ने मैले बुझिसकेको छु । तर बाध्यताले गाउँ बस्नु परेको छ । अनि उता (संस्थामा) के भइरहेको छ भन्ने उत्तर दिनै गाह्रो ।’

संस्थाको कार्यसमितिमा को को थपिए र फेरिए भन्ने जानकारी पनि अनिशलाई छैन । विश्वासका भरमा आफूले संस्थाको समितिलाई कारोबार गर्न छाडेको भन्दै उहाँको भन्नुभयो, ‘भाइरल भएपछि म पनि तातिएको छु । दायाँबायाँ नहोस है भनिरहेको छु ।’
करोडौं रकमको हिसाव किताव खोजी हुन थालेपछि प्रतिष्ठानले गएको माघ १६ गते विज्ञप्ती जारी गरेर हिसाबकिताब त देखायो, तर धेरैले त्यसमा चित्त बुझाएका छैनन् । त्यसैले अहिले पनि संस्थामा भएको त्यो रकमको हिसाबकिताब खोजी भैरहेको छ । आफ्नै नाममा स्थापित भएकोले अनिश संस्थाको संरक्षक हुनुहन्छ । समितिमा आफूले रकमको कारोबार पारदर्शी बनाउने र बैंक स्टेटमेन्ट सार्वजनिक गर्ने कुरा गरेको उहाँले बताउनुभयो ।
अनिश भन्नुहुन्छ ‘मलाई पनि शंका केमा लाग्यो भने समितिले दातालाई बैंक स्टेटमेन्ट देखाएको छैन । गरेको सहयोग रकम कहाँ कहाँ खर्च भयो भन्ने खुलाउनु पर्ने हो । अहिले तीन करोड रुपैयाँ छ जस्तो लाग्छ मलाई । ब्याजले गर्दा तलमाथि भयो होला ।’
एक पाकिस्तानी नागरिकको हत्यापछि अनिश झण्डै ३ वर्ष युएईको जेलमा बस्नुभयो । मृतक पाकिस्तानी नागरिकका परिवारलाई अनिसले ३ लाख ५ हजार दिर्हाम ब्लडमनी तिर्नुपर्ने अदालतले फैसला गरेको थियो । पाकिस्तानी नागरिकका परिवारले ब्लडमनी स्वीकार गरेपछि जेलमुक्त हुने अवसर उहाँले पाउनुभयो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलाई ब्लडमनीका लागि उठेको मध्येबाट ८० लाख ५९ हजार ९५० रुपैयाँ हस्तान्तरण गरिएको थियो । तर त्यो पैसा खर्च हुन पाएन । अनिशले तिर्नुपर्ने ब्लडमनी युएईकै कोही अपरिचित ‘महाजन’ले तिरिदिए ।
र २०७२ असार २३ मा उहाँ नेपाल आउनुभयो । उठेको रकमबाट २५ लाख रुपैयाँ पुर्नस्थापनाका लागि अनिशलाई दिइयो । दाताले अहिले सरकारी कोषमा गएको र अनिशले पाएको बाहेक बाँकी रहेको सरदर तीन करोड रुपैयाँको हिसाबकिताब खोजेका छन् ।
भिडियाे हेर्नुहाेस्
अनिश नेपाल फर्केपछि अभियानलाई प्रतिष्ठानका रुपमा रुपान्तरण गरिएको थियो । प्रतिष्ठानले केही महिना अघि विज्ञप्ती जारी गरेर अभियानमा बाँकी रहेको २ करोड ३६ लाख १७ हजार १३० रुपैयाँ प्राप्त भएको जनाएको छ । प्रतिष्ठानले देशभित्र र विदेशमा रहेका पीडितलाई गरेको सहयोग रकम पनि उल्लेख गरेको छ । तर बाँकी साँवाब्याज कति पुग्यो, त्यो कुन बैंकको खातामा छ भन्ने कुरा खुलाइएको छैन ।
प्रतिष्ठानका उपाध्यक्ष अम्बर खालिङ राई त्यो रकम काठमाडौंको चावहिलमा रहेको सानिमा बैंकको खातामा रहेकोे बताउनु हुन्छ । ‘ब्लडमनी तिरेपछि बाँकी रहेको रकम सरकारी स्वामित्वमा आउनुपर्ने भनियो’ राईले भन्नुभयो, ‘भविष्यमा वैदेशिक रोजगारीका क्रममा पीडित भएकालाई सहयोग गरौं भने प्रतिष्ठान बनाइएको हो ।’
अनिश खालिङ बचाउ अभियान कतारका संयोजक रहेका किशोर सुनुवारले अभियानका क्रममा उठेको पैसा अनिशजस्तै पीडितको सहयोगमा खर्च गरिनुपर्नेमा प्रतिष्ठानमा स्थानान्तरण गर्नु अभियानको मर्म र कानुन विपरित हुने दावी गर्नु भएको छ ।
रकम स्थानान्तरण गर्नकै लागि २०७२/७३ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रतिष्ठान दर्ता गरिएको थियो । अघिपछि पनि ब्लडमनी र अन्य आर्थिक सहायताका लागि बिभिन्न अभियानहरु सञ्चालन हुने गरेका छन् । तर चाहिने पैसा उठेपछि अभियान रोक्ने चलन छ । ब्लडमनीका लागि उठाइएको रकम खर्च हुन नसकेपछि प्रतिष्ठान बनाएर रकम स्थानान्तरण गरिएको सम्भवतः यो पहिलो घटना हो ।
-उज्यालो अनलाइन बाट



