श्रीमान् -श्रीमती दुबै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तहमा खटाउने भएको छ।

सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ। मापदण्ड छिट्टै मन्त्रीपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रहेको खबर आजको नागरिक दैनिकमा अर्जुन सुवेदीले लेखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रीमान् -श्रीमती फरक फरक ठाउँमा कार्यरत रहँदा कर्मचारी सरुवा मिलाउन दौडधूपमा लागिरहने र कामसमेत प्रभावकारी नहुँने भएकाले दुबैलाई एकै ठाउँमा सरुवा मिलाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।

मापदण्डमा स्थानीय तहमा कर्मचारी खटाउँदा दीर्घरोगी, जेष्ठता, अपाङ्गता भएका र गर्भवती एवं एक वर्षभन्दा मुनीको बच्चा भएका कर्मचारीलाई सरुवामा प्राथमिकता दिने उल्लेख छ।

दीर्घरोगी,अपाङ्ग र ५५ वर्ष पूरा भएका कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउने र गर्भवती तथा एक वर्षभन्दा कम उमेरको बच्चा भएका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाइने मापदण्ड तयार भएको छ।