विष्णुप्रसाद पोखरेल
दमक । नेपाल सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेको श्वेतपत्रको असर स्थानीय तहमा पनि देखिएको छ । दमक नगरपालिका श्रोतका अनुसार नगरपालिकाले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा केहि फेरवदल गरेको छ ।
५ महिना अघि पहिलो नगरसभाबाट ल्याएको बजेट, नीति तथा कार्यक्रमहरुमा फेरवेदल भएको हो । नगरपालिकाले १ अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपियाको अनुमानित बजेट ल्याएकोमा यो लक्ष्य प्राप्ति हुन नसक्ने भन्दै यसमा ४० करोड रुपिया बजेट घटाइएको नगर कार्यापालिकाका एक सदस्यले बताउनु भएको छ ।
उहाँका अनुसार बोर्ड बैठकले यस बिषयमा निर्णय गरिसकेको छ । विहिबार भएको दोश्रो नगरसभाले यसलाइ अनुमोदन गरेको पनि बताइन्छ । केन्द्रिय र प्रदेश सरकारले दिने भनेको अनुदान नआएका कारण बजेट एवं नीति तथा कार्यक्रममा प्रभाव परेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।
नगरपालिकाले पहिलो नगरसभामा नेपाल सरकारबाट ६९ करोड ३९ लाख २१ हजार रुपिया र प्रदेश सरकारबाट १४ करोड ५० लाख, सामाजिक सुरक्षा कार्यक्रममा १० करोड २५ लाख, एलजीसिडीपी कार्यक्रममा ४० लाख, सडकवोर्ड कार्यक्रममा ७० लाख, नगर विकासवाट आयमूलक योजनामा १५ करोड बजेट बिनियोजन गरेको थियो ।
यसैगरी लागत सहभागिता योजनाका लागि ३ करोड र गत बर्षको मौज्दात १ करोड २५ लाख ३९ हजार २७ रुपिया सहित बाह्य श्रोतबाट बजेट १ अर्ब १४ करोड ४९ लाख ६० हजार २७ रुपिया र बिषयगत कार्यक्रमहरु समेतका लागि १ करोड ७३ लाख ४५ हजार ३ सय ४० गरेर कूल १ अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपिया बजेट बिनियोजन भएकोमा यो हेरफेर भएको हो । कहाँ के—के मा हेरफेर भएभन्ने खुलाइएको छैन ।
दमक नगरपालिकाका ओलीका अनुसार अत्यआवश्यकीय र गर्नै पर्ने कुनै पनि कार्यक्रमहरुलाइ प्रभाव नपर्ने गरी बजेटमा हेरफेर गर्ने निर्णय गरिएको हो । यस अन्र्तगत केहि विकासका नयाँ योजानहरु तत्काल शुरु गर्न नसकिने अवस्था छ । नगरपालिकाले टेण्डरका लागि सबै तयारी पुरा गरेको एउटा सडक सूचना निकालेर नै तत्काललाइ यो काम अघि नबढाउने निर्णय गरिसकेको छ ।
विहिबार भएको दोश्रो नगरसभामा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना । तस्विर विष्णुप्रसाद पोखरेल



