विष्णुप्रसाद पोखरेल
दमक/झापा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले झापा दमक ७ मा बसोबास गर्दै आएको एक अति बिपन्न कुमाल परिवारकी एक बालिकाको अभिभावकत्व ग्रहण गर्दै बिद्यालय भर्ना गराएकीछन् । बुधबार उनले ७ बर्षिया बिमला कुमाललाइ पृथ्वी माध्यमिक बिद्यालयमा भर्ना गराउदै अभिभावकत्व ग्रहण गरेको घोषणा गरेकी हुन् ।
यो परिवार अति बिपन्न र बिहान बेलुका छाक टार्न समेत समस्या रहेको पाइएको अधिकारीले जनाइन् । केहि समयअघि नगरपालिकाले ओतलाग्ने घर, पानी तान्ने ट्युवेल, शौचालय लगायतको ब्यवस्था मिलाइ दिएको थियो ।
यस परिवारमा ५ जना बालबालिका रहेकोमा अहिलेसम्म एकजनाले बिद्यालयको अनुहार देख्न पाएका थिएनन् । गरिवीका कारण नै यो अवस्था रहेको पाइएको थियो । उनिसंगै यो परिवारका ३ जनाको बिद्यालयमा भर्ना गरिएको छ । सागर कुमालको अभिभावकत्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष देउकुमार नेम्बाङले गरेकाछन् ।
नगरपालिका उपप्रमुख अधिकारीले गरिबीका कारणले कोहि पनि बिद्यालयको पहुँच बाहिर नरहुन भन्ने चाहाना आफूहरुको रहेको बताउदै त्यस्तो पाइए नगरपालिका सहयोग गर्न तयार रहेको बताएकी थिइन् । नगर शिक्षा अधिकारी शालिकराम काफ्ले सहितको सहभागिता रहेको बिद्यालय भर्ना कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
आफ्ना बालबच्चा यसरी बिद्यालय भर्ना हुदाँ आफूलाइ धेरै खुसि लागेको बालबालिकाकी आमा कमला कुमालले बताइन् । आफ्ना ५ जना छोराछोरी कसैले पनि अहिलेसम्म बिद्यालय जान नपाएको र अब भने जान पाउने हुँदा धेरै नै खुसि लागेको उनले सुनाइन् ।



