विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा एउटा यस्तो सडक बन्यो जहाँ अब कुनै पनि प्रकारका सवारी साधन कुदाउन नपाइने भएको छ । यो पैदलयात्रुका लागि मात्र बनेको सडक हो । पर्यटकीय सडकको रुपमा यसलाइ हेरिएको छ ।
दमकको मुख्य बजारमा बनेको नमूना मार्गमा अब कुनै पनि प्रकारका सवारी साधन कुदाउन पाइने छैन । सडक प्रवेसद्धारहरुमा मानिस बाहेक अरु सवारी साधन छिर्न सक्ने छैन । यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार सबै तयारी पुरा भएको अब सवारी साधन यस सडकभित्र प्रवेसमा रोक लगाइने छ । आँशिक रुपमा रोक लागिसकेको र अब पूर्ण रुपमा रोक लाग्ने उनको भनाइ छ ।
यहाँ बस्नका लागि सुविधायुक्त कुर्सिहरुदेखि लिएर फूलवारी समेत निर्माण भइसकेको छ । पानीको फोहोरा समेत चौबीसै घण्टा शुचारु हुने जनाइन्छ । यो सडक पूर्वी नेपालको एउटा आकर्षक पर्यटकीय गन्तब्य बन्ने दाबी निर्माण उपभोक्ताहरुको रहेको छ ।
दशै अगावै यहाँ सवारी साधन प्रतिबन्धको प्रयास भएको भएता पनि यहाँका ब्यापारीहरुले बिरोध जनाएपछि रोकिएको थियो । आफूहरुको ब्यापार ठप्प हुने भन्दै यहाँका ब्यापारीहरुले बिरोध जनाएका थिए ।



