लेलिनको फोटो नराखेको भन्दै ब्यानरको बिषयलाई लिएर चर्केको वाइसियलको नाराबाजी मथ्थर पारी दुई अध्यक्षबीच छलफल भएको छ । पार्टी एकताको बिषयलाई लिएर अन्तिम टुंगोमा पुगेका दुईदलका शीर्ष नेताहरुले एकताको बिषयलाई फराकिलो र लचिलो बनाउँदै भिड शान्त गरेका हुन् ।
जनताले चाहेको एकतालाई भाँड्न बाह्य शक्तिको चलखेल बढेको भन्दै दुवै दलका अध्यक्षले नेता कार्याकर्तालाई संयमित रहन आग्रह गरेका हुन् । विगतदेखि थालिएको वाम एकतालाई निरुत्साहित नपार्न र धैर्यता गर्दै विवादित बिषयमा समाधान खोज्नु अहिलेको आवश्यकता रहेको दुवै दलका शीर्षस्थ नेताहरुको भनाइ रहेको छ ।
आइतबार मात्रै झापामा भएको एकताको पाठ सिक्दै कुनै पनि हालतमा प्रलय हुने दिशा तिर नजान दुवै शक्ति संयमित भएको एक नेताले जानकारी दिनु भएको छ । दुवै दलका अध्यक्षको छलफलपछि पुनः बैठक सञ्चालन भएको छ । एकता भइरहेको ठाँउमा नाराबाजी गरेर समस्या समाधान नहुने भन्दै नेताहरुले कार्यकर्तालाई सम्झाएका छन् ।
देशका विभिन्न स्थानबाट एकताको सन्देश प्रवाह भइरहेका बेला केन्द्रमा देखिएको विवादले कार्यकर्तामा निराशा छाउने दुवै दलको निष्कर्ष निकालेका छन् । कार्यक्रममा गायक बद्री पंगेनीले एकताको सन्देश दिने गीत सुनाउनु भएको थियो ।



