एमाले नेता माधवकुमार नेपालले धुर्मुस सुन्तलीबारे दिएको अभिव्यक्तिमाथि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ट्वीटरमा व्यंग्य गरेका छन् ।
काठमाडौंमा सोमबार किशोर पन्थीको पुस्तक ‘कम्पन’लोकार्पणमा नेपाल र भट्टराई दुवै सहभागी थिए । कार्यक्रममा सहभागी हुँदा कुम जोडेका भट्टराईले सामाजिक सञ्जालमा भने नेता नेपालको खिल्ली उडाएका छन् ।
नेपालले कार्यक्रममा भूकम्पपछिको पुननिर्माणको जिम्मा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को फाउन्डेशनलाई जिम्मा दिए राम्रो हुने बताएका थिए ।
सोसियल मिडियामा सक्रिय डा. भट्टराईले कार्यक्रमबाट घर फर्केपछि नेपालको उक्त भनाइलाई व्यंग्य गर्दै ट्वीटरमा लेखेका छन्,‘माधव कमरेडले यो पनि थप्नुभएको भए अझै राम्रो हुन्थ्यो की– पुननिर्माण धुर्मुस सुन्तलीलाई दिऊँ, बाँकी हामी सबै डाडुभरी पानीमा डुबेर मरौं ।’

मञ्चमा पुननिर्माणको विषयमा डा. भट्टराईले पनि बोलेका थिए । उनले भूकम्पपीडितलाई अनुदान रकम एकमुष्ट दिनुपर्ने सुझाव दिएका थिए । लगत्तै नेपालले त्यो भन्दा धुर्मुस–सुन्तलीलाई पुननिर्माणकै जिम्मा दिनुपर्ने बताएर काउन्टर भाषण गरेपछि ट्वीटरमा डा. भट्टराईको यस्तो व्यंग्य आएको हो ।
नेपालले भने,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भन्नुभयो, व्यक्तिलाई (अनुदान) दिनुभन्दा धुर्मुस–सुन्तली जस्ता मान्छेहरुलाई जिम्मा दिए हुन्छ । राम्रो काम गर्नुभएको छ ।’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनुदानको नाममा अहिले पनि पीडित जनतालाई दुःख दिइएको भन्दै अनुदान रकम एकमुस्ट दिएमा पनि दुरूपयोग नहुने बताएका थिए ।



