१० पुस । झापाको गौरादह उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकीए सँगै एमाले पार्टी भित्रको बिवाद सडकमा आएको छ । गौरादह नगरपालिका घोषणा भएपछि हुन लागेको गौरादह उद्योग बाणिज्य संघको पहिलो निर्वाचनमा एमाले अध्यक्ष केपी ओली निकटका दुई समूहले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी फागुन २ गते हुने संघको निर्वाचनमा एमालेका सांसद दिपक कार्की र पार्टी पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री अग्नी खरेल समूहले आआफ्ना उम्मेद्वार घोषणा गरेका छन् । यतिवेला गौरादहमा एमाले लगायतका राजनीतिक दल र व्यवसायीमा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेसले गौरादह उद्योग बाणिज्य संघको अध्यक्षमा जीवन राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । काँग्रेस निकटका व्यवसायीले राईको नेतृत्वमा प्यानल निर्माण गर्ने र मत माग्ने कार्य सुरु गरेका छन्  । गौरादह उद्योग बाणिज्य संघको निर्वाचनको बिषयलाई लिएर नेकपा एमाले नगर समितिमा बिवाद बढेको छ । एमाले पार्टीले सर्वसम्मत अध्यक्षको उमेद्वार चयन गर्न नसकेर चरम बिवादमा परेको हो । नेकपा एमाले गौरादह नगर समितिको बैठकले व्यवसायी दिलिप भण्डारीलाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेपछि बिवाद बढेको हो । एमाले नगर समितिका अध्यक्ष मित्रदेव काफ्लेले पार्टीको तर्फबाट  अध्यक्षको उममेद्वार भण्डारी भएको बताए । एमाले नगर समितिको बैठकले बिवादका बीच बहुमतीय प्रक्रियाबाट भण्डारीलाई  उम्मेद्वार बनाउने निर्णय गरेको हो । भण्डारीलाई उम्मेद्वार बनाइनु नहुने भन्दै समितिका अध्यक्ष बाहेकका चार पदाधिकारीले  निर्णयका बिरुद्ध फरक मत दर्ज गरेको एक सदस्यले बताए । भण्डारी उद्योग बाणिज्य संघ शाखा गौरादहका पूर्व अध्यक्ष हुन् । पार्टी नगर समितिले व्यवसायी सँग सल्लाह नगरी दिलिप भण्डारीलाई जबरजस्ती अध्यक्षको उमेद्वार बनाएकोमा एमाले निकट व्यवसायीको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ गौरादह नगर समितिले आपत्ती प्रकट गरेको छ । संघको नगर समिति अध्यक्ष पुण्य सिग्देलको सभापतित्वमा शनिबार बसेको पूर्ण बैठकले व्यवसायी निर्मल बाँस्तोलालाई अध्यक्षको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको  व्यवसायी तथा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दुर्गा गौतमले जानकारी दिए । बाँस्तोला झापा उद्योग वाणिज्य संघ गौरादह शाखाको दुई कार्यकाल सचिव भइसकेका हुन् । पार्टीको तर्फबाट आधिकारिक उम्मेद्वार भण्डारीको बिरुद्ध पार्टी निकट व्यवसायीको संगठनले बाँस्तोलालाई उम्मेद्वारमा अघिसारे पछि एमाले भित्रको भाँडभैलो सतहमा आएको हो । झापा क्षेत्र नं ६ का सांसद दिपक कार्कीको समूह र नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री अग्नी खरेलको समूहमा कार्यकर्ता बाँडिएपछि दुई गुटको बिकास भएको हो । नेता खरेल पनि गौरादह नगरपालिकाका स्थायी बासिन्दा हुन् । सांसद कार्कीको बलियो पक्कड मानिएको गौरादह नगरपालिकाको पार्टी अधिवेशनमा खरेल पक्षका मित्रदेव काफ्ले नगर अध्यक्षमा जितेपछि खरेल समूह र कार्की समूह खुलेरै गुटको बिकासमा लागेका हुन् ।  पार्टीले घोषणा गरेका अध्यक्षका उम्मेद्वार दिलिप भण्डारीलाई खरेल गुटको उम्मेद्वार  भनेर आरोप लगेको छ भने निर्मल बाँस्तोलालाई कार्की गुटको भनेर आरोप लागेको छ । एमाले गौरादह नगर कमिटी भित्र एक अर्कामा निषेधको शैलीमा दिपक कार्की समूह र अग्नी खरेल समूह लागेपछि काँग्रेस निकटका उम्मेद्वार जीवन राईको पल्ला भारी हुनसक्ने अनुमान गरिएको छ । एमालेको एउटा समूह, एमाले बाहेकका पार्टी निकटका व्यवसायीलाई मिलाउन सके राई बलियो हुने व्यवसायीको आकंलन छ । एमाललेको आन्तरिक द्वन्द्वले दुई महिना अघि सम्मपन्न दमक उद्योग बाणिज्य संघको निर्वाचनमा पार्टीका उम्मेद्वार गणेश बस्नेतले सर्मनाक हार व्यहोर्नु परेको थियो । पार्टीको निर्णयलाई चुनौती दिँदै स्वतन्त्र उम्मेद्वार बनेका राजेन्द्र ढकालले सम्मानजनक मत ल्याई बिजयी बनेका थिए । गौरादहमा पनि दमकमा जस्तै पार्टी उम्मेद्वारले हार व्यहोर्नु पर्ने कार्की निकटका व्यवसायीको बुझाई छ । सांसद कार्की र नेता खरेल दुबै एमाले अध्यक्ष ओली समूहका हुन् । तर, स्थानीय तहमा भने कार्की र खरेलले आआफ्नो समूह बनाएका छन् । सजिलोखबर बाट