काठमाडौं– करोडौं रकम हिनामिना गरेको आरोपमा चीनबाट फरार एक चिनियाँ महिलालाई नेपाल प्रहरीले बौद्धमा पक्राउ गरेको छ। झाङ गोयुन नाम गरेकी ती महिला बुधबार पक्राउ परेकी हुन्।

पासपोर्ट नम्बर ई ५९९६६८५२ नम्बर भएकी उनलाई अध्यागमन विभागले चीन निष्काशनको तयारी गरेको छ। उनी नेपाल आएको थाहा पाएपछि चीन सरकारले उनको पासपोर्ट रद्द गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चीनले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनलाई महिलाबारे सूचना पाएको थियो। इन्टरपोलसँगकै सहकार्यमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

रद्द भएको पासपोर्ट प्रयोग भएकाले पक्राउ परेकी चिनियाँ महिलाविरुद्ध कारबाही अघि बढाइएको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए। स्रोतका अनुसार उनलाई लिन चिनियाँ प्रहरीको टोली काठमाडौं आएको छ। उनी ठूलो वित्तीय अपराधमा संलग्न भएको स्रोत बताउँछ।