काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसँग मिलेर नेपालमा सुन तस्करी गर्ने एक चिनियाँ महिलालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ।

तस्करीमा संलग्न ४० वर्षीया जेजोङलाई सिआइबीले बुधबार विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। चीनबाट नेपाल आउने क्रममा उनी पक्राउ परेकी हुन्। उनलाई ७ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजिरहेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत भदौ १४ गते सिआइबीले काठमाडौंको सामाखुसीबाट सिन्धुपाल्चोक भोटेकोसीका पेम्बा दोर्जेलाई पक्राउ गरेको थियो। सोही समूहका अन्य ६ जना धनुषाबाट एक केजी सुनसहित पक्राउ परेका थिए। थप ७ केजी सुन भने भारत पुगिसकेको खुलेको थियो।

सो सुन तस्करीका मुख्य नाइके भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको खुलेपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो। उनी धरौटीमा छुटिसकेका छन्।

पौडेलको समूहलाई चीनबाट उनै चिनियाँ महिलाले सुन पठाउने गरेको खुलेको थियो। उनको पासपोर्ट नम्बर पत्ता लगाई सिआइबीले अध्यागमनको कालोसूचीमा राखेको थियो। ७ महिनापछि नेपाल आएलगत्तै उनी पक्राउ परेकी हुन्।

प्रहरीले अनुसन्धान थालेलगत्तै फरार भएका पौडेल र उनका सहयोगी रमेश खड्का मंसिरको पहिलो साता अदालतमा उपस्थित भएर एकएक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। मुद्दा जिल्ला अदालतमा अझै विचाराधीन छ।

संगठित रुपमा नै चिनियाँ समूहले नेपालमा केरुङ नाकाबाट सुन तस्करी गर्दै आएको थियो। पक्राउ परेकी चिनियाँ महिलामाथि अनुसन्धान जारी रहेकाले चिनियाँ गिरोहबारे थप खुल्न सक्ने सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्। नेपाल लाइभ बाट साभार