दमक, बैशाख १८/झापाको दमक नगरपालिकामा बुधबारदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु हु“दैछ । बैशाख १९ देखि २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
गोल्डकप दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको हो । गोल्डकपको लागि आवश्यक सबै तयारी पूरा भएको समिति अध्यक्ष केन्द्र प्रसाईले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा मोफसलकै सर्वाधिक सफल टोली रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले नगद ६ लाख ११ हजार रुपैया“ र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा आयोजकसहित १० वटा टोलीको सहभागीता रहने छ । गोल्डकपमा आयोजक दमक नगरपालिका, रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब, विभागीय टिमहरु त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ, रुपन्देही ११, सरस्वती क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमी सहभागी हुनेछन् ।
प्रतियोगिताका सबै खेल दमक ९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । मैदानमा ५ हजार दर्शक क्षमताको बा“सको प्याराफिट निर्माण गरिएको छ । गोल्डकपमा एक जना सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिण्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । गोल्डकपमा प्रत्येक दिनको खेलको म्यान अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खत्रीले बताए ।
दमक नगरपालिकालाई भौतिक पूर्वाधारको विकाससंगै खेलकुदको माध्यमबाट पनि विश्वसामू चिनाउन राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरेको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए । उनले यस बर्ष दमक गोल्डकपले आम खेलाडी र खेलप्रेमीलाई एक ढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताए । उनले अर्को बर्षदेखि नगरमा फुटबलसंगै अन्य खेलकुदका गतिविधिलाई पनि अघि बढाउने बताए ।
गोल्डकपबाट एक करोड ३६ लाख रुपैया“ संकलन हुने गोल्डकप मूल आयोजक समिति संयोजक भीमराज चम्लागाईले जानकारी दिए । उक्त रकममध्ये गोल्डकप सम्पन्न गर्न ९३ लाख रुपैया“ खर्च हुने अनुमान गरेको उनले बताए । ४२ लाख ५० हजार रुपैया“ भने बचत गरिने उनले बताए ।
गोल्डकपका लागि २० लाख रुपैया“ दमक नगरपालिकाले उपलब्ध गराएको चम्लागाईले बताए । झापामा आयोजना हुने ठूला फुटबल प्रतियोगिताका रुपमा दमक गोल्डकप पा“चौं गोल्डकपको रुपमा आयोजना हुन लागेको छ । यसअघि गत सिजनमा जिल्लामा चार वटा गोल्डकप सम्पन्न भएका थिए ।
गत बर्षको असोज महिनामा प्रथम दूधे गोल्डकप, कार्तिक–मंसिरमा दोस्रो सताक्षी गोल्डकप, मंसिरमै तेस्रो का“कडभिट्टा गोल्डकप र फागुनमा तेस्रो झापा गोल्डकप सम्पन्न भएका थिए । आयोजकहरुका अनुसार गत बर्षका चारवटै गोल्डकप आर्थिक एवं व्यवस्थापकीय हिसाबले सफलतापूर्वक सम्पन्न भएका थिए ।



