विष्णुप्रसाद पोखरेल
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा नमूना बजारको उद्घाटन गर्नु भएको छ । मंगलवार दमक वडा नं. ६ मा नमुना पार्क सहितको नमूना बजारको एक भब्य कार्यक्रमबीच ओलीले उद्घाटन गरेका हुन् ।
दमकको मुख्य बजारमा पानीको फोहोरा, फूलवारी, आराम चियर, बिभिन्न आकर्षक बत्तीहरु सहित टायल बिछ्याएर १ करोड ३५ लाखको लागतमा दमकमा नमूना बजार निर्माण गरिएको हो । दमक नगरपालिकाको १ करोड २० लाख र बाँकी उपभोक्ताको रकम लागेको दमक नगरपालिकाले प्रमुख रोमनाथ ओलीले जनाए ।
प्रधानमन्त्री ओलीले दमक एउटा नमूना शहर बन्न लायक भएको जनाए । उनले यो शुरुवात भएको भन्दै यो काम गर्ने सबैलाइ धन्यवाद दिदै यसले मात्र नपुग्ने उनको भनाइ रहेको थियो । उनले भने, दमक हरेक दृष्टिले अगाडि बन्नुपर्छ र नमूना हुनुपर्छ ।
सोहि अवसरमा दमकमा नमूना बजारको परिकल्पना गर्ने र निर्माण शुरु गर्ने दमक नगरपालिकाका निवर्तमान कार्यकारी अधिकृत युवराज दाहाललाइ सम्मान पनि गरिएको थियो । नगरपालिकाको तर्फबाट उनलाइ सम्मान गरिएको थियो । दाहाल अहिले प्रधानमन्त्री ओलीका नीजि सचिब हुन् ।



