काठमाडौं । मिति २०७४ चैत १९ मा गृह मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल आफैले देशमा टनका टन सुन तस्करी भइरहेको खुलासा गरे । मन्तव्यको क्रममा गृहमन्त्री थापाले यस्तो खुलासा गरिरहँदा ड्यासमा आसीन नेपाल प्रहरीका तत्कालीन आईजीपी प्रकाश अर्यालको अनुहार एकाएक कालो भयो । गृहमन्त्री थापाले मुलुक तस्करहरुको कब्जामा रहेको र अर्बौंको तस्करी भइरहेको बताइरहँदा प्रमुख सुरक्षा निकाय नेपाल प्रहरीका आईजीपी मलीन अनुहार लिएर मन्तव्य सुनिरहेका थिए ।
तीनवटै सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका उच्च अधिकारीहरु, सुरक्षा निकायका अधिकांश उच्च तहका अधिकृत तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गृहमन्त्रीले नै देशमा व्यापक रुपमा सुन तस्करी भइरहेको बताइरहँदा उपस्थितहरुले उक्त वक्तव्यलाई गृहमन्त्रीको निरीहताको रुपमा अथ्र्याए । गृहप्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नको लागि मन्त्रालयमा आयोजना गरिएको विशेष कार्यक्रममा गृहमन्त्रीले सुन तस्करीको बिषय उठान गरिरहँदा उपस्थित केही सुरक्षा अधिकृतहरुको मुटुमा ढ्यांग्रो बज्न थालिसकेको थियो ।
हवाई तथा स्थल मार्गबाट दशकौंदेखि संगठित रुपमा भइरहेको सुन तस्करीले मुलुककोअर्थतन्त्र धराशायी हुँदै गइरहेको परिप्रेक्ष्यमा गृहमन्त्री थापाको उक्त वक्तव्यले मुलुक माफिया तस्कर र आपराधिक समूहको चंगुलमा फसेको सहजै अनुमान लगाउन सकिन्छ । तस्करीको सुनसम्बन्धी विवादमा तस्कर समूहकै एक व्यक्तिको हत्या भएको प्रकरणबाट विकसित घटनाक्रमले फागुन अन्तिम सातातिर आफूलाई उपलब्ध केही सबुद प्रमाणको आधारमा नै गृहमन्त्री थापाले उक्त विषय उठान गरेका थिए ।
त्रिभुवन विमानस्थल हुँदै गत माघ ९ गते नेपाल भित्रिएको तस्करीको ३३ किलो सुन काठमाडौंको मध्य बानेश्वरबाट गायब भयो । उक्त सुन लुटियो अथवा विमानस्थलबाट स्कुटरमा सुनले भरिएको सुटकेस ल्याउने सानु बन र तक्लु भन्ने पुण्य प्रसाद लामाले लुकाए ? त्यो अहिलेसम्म रहस्यको गर्भमै छ । विमानस्थलबाट सुन रिसिभ गरेर ल्याउने मध्येका थाई एयरवेजका सिनियर टेक्निसियन सानु बनले सोही घटनाको कारण विमानस्थलको रनवेमा गुडिरहेको इन्धन ट्यांकरमुनि हाम फालेर आत्महत्या गरिसकेका छन् ।
३३ किलो सुन गायब भएपछि सुनका मालिक गोरे भन्ने चूडामणि उप्रेतीको टर्चर सहन नसकेर बनले आत्महत्या गरेको अनुसन्धानमा खुल्न आएको छ । सोहि घटनामा गोरेले दिएको यातनाका कारण मोरङको उर्लाबारीस्थित जंगलमा मृत्युवरण गरेका सनम शाक्यको घटना अनुसन्धानको क्रममा प्रहरीबाट त्रुटि भएको र सनम शाक्यको हत्यामा प्रहरीकै अधिकृतहरुको सहयोग रहेको भन्दै पीडितका आफन्तले गृह मन्त्रालयमा उजुरी गरेपछि उक्त काण्ड बाहिर आएको थियो ।
उक्त विषयमा उजुरी आएपछि गृहमन्त्री थापाको पहलमा सरकारले ‘सङ्गठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७०’ को ‘दफा १२’ बमोजिम गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको थियो । उक्त टोलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरि रेग्मी, नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सई सुमन कार्की सदस्य छन् ।
सरकारद्वारा गठित उक्त अनुसन्धान टोलीले सनम शाक्य मृत्यु प्रकरण केलाउँदै जाँदा पहिलो चरणमा हालसम्म २९ जना पक्राउ गरेको छ भने पक्राउ पर्न नसकेका ३४ जनालाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा कुल ६३ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा मोरङ जिल्ला अदालतमा प्रारम्भिक सुनुवाइको क्रममा छ । गतहप्ताको बिहीबारदेखि जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशमा पक्राउ परेका प्रतिवादीहरुको बयान जारी छ । प्रतिवादी धेरै भएकोले उक्त मुद्दाको बयान र थुनछेक आदेश हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ ।
अनुसन्धानको समयसीमाको कारण विशेष अनुसन्धान टोलीले हालसम्म खुलेका तथ्यलाई सिलसिलेवार रुपमा प्रस्तुत गर्दै उक्त मुद्दामा थप व्यक्तिहरुमाथि अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा राय पेश गरिसकेको छ । विशेष अनुसन्धान टोलीको सोही रायको आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले गत बुधवार मोरङ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरु पक्राउ परेको यस मुद्दाले मुलुकको प्रमुख सुरक्षा संगठनको छवि धमिल्याएको मात्रै छैन, बर्दीको आडमा वर्षौंदेखि चल्दै आएको आपराधिक कुकृत्यको पर्दाफास गरेको छ । प्रहरीका पूर्वडीआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जयबहादुर राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अम्बरबहादुर थापा मगर र प्रहरी जवान विष्णुबहादुर खड्का अहिले मोरङ प्रहरीको हिरासतमा छन् भने नेपाल प्रहरीकै बहालवाला एसएसपी श्यामबहादुर खत्री फरार छन् । एसएसपी खत्री डेढ वर्षअगाडि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको साढे ३३ किलो सुनकाण्डमा समेत पक्राउ परेका अधिकृत हुन् । विशेष अनुसन्धान टोलीले आफूलाई पक्राउ गर्न लागेको सुइँको पाएपछि भूमिगत भएका एसएसपी खत्री हाल भारतमा लुक्दै आएको स्रोतको दाबी छ ।
संगठित अपराध ऐन २०७० मा भएको व्यवस्थाअनुसार प्रहरीले अनुसन्धानको लागि पाउने ६० दिनको समय सकिएपछि हालसम्मको प्रगति विवरण समेटेर मुद्दा दायर गरिएको हो । हालसम्म ऐनको दफा १२ अनुसार अनुसन्धान तथा अभियोजन भएकोमा अब बाँकी अनुसन्धानका लागि सोही ऐनको दफा २२ बमोजिम अनुसन्धान थालिने भएको छ । सुशासन न्युज साप्ताहिकमा समाचार छ।
दफा २२ मा ‘कुनै व्यक्तिविरुद्ध संगठित अपराधको मुद्दाको अभियोगपत्र दायर भइसकेपछि सोही अपराधका सम्बन्धमा अन्य व्यक्तिका विरुद्ध मुद्दा दायर गर्न वा त्यसरी दायर भइसकेको अभियुक्तविरुद्ध सोही अपराधमा वा अन्य कुनै कसुरमा थप अभियोग लगाई अदालतमा अभियोग पत्र दायर गर्न सकिनेछ,’ भनी उल्लेख छ । उच्च स्रोतका अनुसार विशेष अनुसन्धान टोलीले सोही दफामा भएको कानुनी व्यवस्थालाई टेकेर थप अनुसन्धान थालेको छ ।
पहिलो चरणको अनुसन्धानमा गोरे समूहले मात्रै विगत तीन वर्षमा करिब ४० क्विन्टल सुन अवैध तरिकाले नेपाल भित्र्याउन सफल भएको खुल्न आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै पछिल्लो साढे चार वर्षमा ४७ टन सुन तस्करी भएको तथ्य फेला पारेपछि अनुसन्धान टोलीले छानबिनको दायरा फराकिलो पार्दै तस्करीमा संलग्न सबैलाई कारबाहीको प्रक्रियामा ल्याउने तयारी गरेको छ । छानबिनको क्रममा प्रहरीका पूर्वआईजीपीदेखि एआईजीसम्मको संलग्नता देखिएको स्रोत बताउँछ । उक्त विषयमा विशेष अनुसन्धान टोलीका संयोजक तथा सदस्यहरुले गृहमन्त्री थापा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरिसकेका छन् । तस्करीमा संलग्न व्यक्ति जतिसुकै माथिल्लो तहको तथा जतिकै उच्च हैसियतको भएता पनि नडराईकन कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अनुसन्धान टोलीलाई निर्देशन दिइसकेका छन् ।
प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपश्चात् अनुसन्धान टोलीले नेपाल प्रहरीबाट गत महिना अवकाशप्राप्त आईजीपी प्रकाश अर्याल र एआईजी बमबहादुर भण्डारीको बयान लिने तयारी गरेको छ । आफूले तत्कालीन कामु आईजीपी बमबहादुर भण्डारीको आदेश लिएर डीएसपी प्रजित केसीको नेतृत्वको प्रहरी टोली धरान पठाएको र उक्त विषयमा तत्कालीन आइजीपी प्रकाश अर्याललाई समेत जानकारी रहेको भन्दै एसएसपी लोहनीले बयान गरेपछि भण्डारी र अर्यालमाथि अनुसन्धान आवश्यक रहेको राय पेश भएको थियो । गत फागुन १९ मा तत्कालीन आईजीपी प्रकाश अर्याल आफ्नो छोराको व्रतवन्धको लागि बिदा लिएर चितवनको देवघाट पुगेपछि कामु आईजीपीको जिम्मेवारी एआईजी भण्डारीले पाएका थिए । काठमाडौं उपत्यकाका तीन जिल्ला मात्र कार्यक्षेत्र रहेको महाशाखाको टोलीले कार्यक्षेत्र नाघ्दै सुनसरी र मोरङमा अपरेशन गरेपछि विवाद शुरु भएको थियो । सोही कार्यक्षेत्र विवादसम्बन्धमा सोधपुछको क्रममा आदेश दिने अधिकारीको खोजी गर्दा कामु आईजीपीको हैसियतमा रहेका तत्कालीन एआईजी भण्डारीको नाम जोडिन पुगेको स्रोत बताउँछ । पूर्व एआइजी भण्डारी नेपाल प्रहरीमा इमान्दार र व्यावसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । महाशाखाले आदेश माग गरेपछि असल नियतले नै अपरेसनमा जान आदेश दिएको भरमा नाम जोडिएको भएता पनि भण्डारीको तस्कर समूहसँग सम्पर्क देखिएको छैन । त्यसकारण उनलाई घटना विवरण कागज गराउने अनुसन्धान टोलीको तयारी रहेको बुझिएको छ ।
पूर्वआईजीपी प्रकाश अर्यालको तस्कर समूहका सदस्यहरुसँग बाक्लो उठबस र सम्पर्क देखिएपछि उनलाई बयानको लागि बोलाउने तयारी गरिएको स्रोत बताउँछ । उनका अलावा पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजीहरु नवराज ढकाल, विज्ञानराज शर्मा, विजयलाल कायस्थ र पूर्वडीआईजी गोपाल भण्डारीलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको गृहसम्बद्ध उच्च स्रोतको दाबी छ । अनुसन्धानको क्रममा अख्तियारबाट अयोग्यताको बिल्ला भिरेर बाहिरिएका लोकमानसिंह कार्की, व्यापारीहरु दीपक मलहोत्रा, दयाराज शर्मा र सुभास श्रेष्ठ समेतलाई बयानको लागि बोलाउने तयारी गरिएको बुझिएको छ ।
उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीको आईजीपी हुँदा अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निर्देशनमा पूर्वएआईजी शर्मा, कायस्थ र पूर्वडीआईजी गोपाल भण्डारीले आर्थिक प्रलोभनमा सुन तस्करहरुलाई सघाएको आरोप लागेको छ । शर्मा, भण्डारी र कायस्थ पछिल्लो ६ वर्षको अवधिमा विभिन्न समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत थिए । चार वर्षअगाडि महानगरीय प्रहरी आयुक्तको कार्यालयको प्रमुखको रुपमा कार्यरत हुँदा सुन तस्करीमा नाम जोडिने विवादास्पद व्यापारी दीपक मलहोत्रा र उनका व्यावसायिक साझेदार दयाराज शर्मालाई सुन तस्करीमा सघाएको आरोप पूर्वएआईजी ढकालमाथि छ ।
त्रिभुवन विमानस्थलको पार्किङदेखि सम्पूर्ण पसलहरु ठेक्कामा लिएर वर्षौंदेखि विमानस्थलमा आफ्नो कब्जा जमाउँदै आएका विवादास्पद व्यापारी सुभास श्रेष्ठ पनि सुन तस्करी काण्डमा मुछिएका छन् । प्रस्थान कक्षतर्फको अध्यागमनभित्र कफी शप, विभिन्न पसल र रेस्टुरेन्टहरु श्रेष्ठ आफैले सञ्चालन गर्दै आएका छन् । त्यहाँको व्यापारबाट संकलन हुने विदेशी मुद्रा जहाजमार्फत सिधै दुबई पठाउने र सोही मुद्राबाट सुन खरिद गर्ने गरिएको स्रोत बताउँछ । विमानबाट आउने फोहोर व्यवस्थापनको समेत जिम्मेवारी लिएका श्रेष्ठले फोहोरमै राखेर सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटमार्फत सुन पास गराउने गरेको सूचनासमेत विशेष अनुसन्धान टोलीले पाएको छ । विमानस्थलबाट हुने डलर तस्करी र हुण्डीको कारोबारमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत विशेष निगरानीमा राखिएको छानबिन समितिका एक सदस्यले नाम नछाप्ने शर्तमा सुशासनन्युज साप्ताहिकलाई जानकारी दिए ।
उच्च स्रोतका अनुसार हुण्डी कारोबारी पवन सरिया, ग्रयाण्ड होटलका मालिक रामअवतार गोयल, माउन्टेन होटलका रवीन्द्र मल्ल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो लगायतलाई सुनतस्करीको सञ्जालसँग जोडेर विशेष अनुसन्धान टोलीले उनीहरुको सम्पर्क सूत्र केलाउँदै छ । उक्त सञ्जालसँग एक सञ्चार उद्यमीको समेत कनेक्सन देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ ।
दिवेश समातिँदा विज्ञानलाई छटपटी !
सनम शाक्य मृत्यु प्रकरण र ३३ किलो सुनकाण्डको विवादमा तानिएपछि विशेष अनुसन्धान टोलीको पत्रअनुसार एसएसपी दिवेश लोहनी गत बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित भए । मोरङ प्रहरीले अस्पतालमा लोहनीको स्वास्थ्य चेकजाँच गरेर तत्काल जिल्ला सरकारी वकिलको कार्यालय मोरङ पु¥यायो । त्यहाँ सरकारी वकिलले लोहनीको बयान लिए र थुनामा राख्नको लागि पक्राउ पुर्जी र थुनुवा पुर्जी थमाए । त्यसलगत्तै लोहनीसहित ६३ जना प्रतिवादी कायम गर्दै पक्राउ परेका २९ लाई मोरङ जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङले संगठित अपराध तथा कर्तव्यज्यान मुद्दा दायर ग¥यो ।
मुद्दा दायर भएपछि प्रहरीको सुरक्षा घेरामा अदालतबाट जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा लैजाँदै गरिएका अभियुक्त लोहनीले उपस्थित सञ्चारकर्मीलाई लात्ती प्रहार गरे । दृश्य लिँदै गरेका स्थानीय सञ्चारकर्मीको क्यामरामा लात्ती प्रहार गरेपछि लोहनी झनै विवादमा तानिए । त्यसको दोस्रो दिन एक चर्चित दैनिक पत्रिकामा सुनकाण्ड र निलम्बित एसएसपी दिवेश लोहनीको पक्राउ सम्बन्धमा समाचार छापियो । समाचारमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्माको भनाइ अलि बढी नै हाइलाइट गरेर राखिएको थियो । पत्रिकालाई शर्माले दिएको प्रतिक्रियाको सारसंक्षेप थियो, ‘अनुसन्धानले बाटो बिरायो ।’
हत्या र सुन तस्करी सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको अनुसन्धान प्रक्रियामा प्रश्न उठाएपछि पूर्वएआईजी शर्मा आलोचित बन्न पुगे । शर्मा तिनै हुन्, जसलाई सुन तस्करीको सञ्जालसँग जोडेर अनुसन्धान टोलीले उनको कनेक्सन खोतलिरहेको छ । अनुसन्धानको दायरामा रहेका व्यक्तिले ‘यसरी अनुसन्धान गर्नु हुँदैन र यसरी गर्नुपर्छ’ भन्दै सार्वजनिक अभिव्यक्ति दिनु अनुसन्धानलाई प्रभावित पार्ने खेल रहेको बुझ्न कठिन नहुने जानकारहरु बताउँछन् । शर्मा २०६९÷७० सालमा विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत थिए । शर्माकै कार्यकालमा पनि विमानस्थलबाट अत्याधिक सुन तस्करी भएको चर्चा चल्ने गरेको छ । त्यसबेला हाल थुनामा रहेका एसएसपी लोहनी एसपीको रुपमा शर्मासँगै विमानस्थलमा कार्यरत थिए । विमानस्थलको सुरक्षा प्रमुख हुँदा आफूसँगै काम गरेका लोहनीको पक्राउपछि बढेको उनको छटपटी र चर्को सक्रियतालाई निकै अर्थपूर्ण रुपमा लिइएको र सो विषयमा सूक्ष्म अनुसन्धान थालिएको समितिका एक सदस्यले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले उक्त घटना अनुसन्धानको लागि तत्कालीन डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेलगत्तै एसएसपी लोहनी भारतको बिहार गएको तथ्य प्राप्त भएको छ । गृह मन्त्रालयको निर्देशनपछि चैत पहिलो साता प्रहरी मुख्यालयले तत्कालीन डीआईजी रेग्मीको अध्यक्षतामा छानबिन समिति गठन गरेको जानकारी पाएपछि लोहनी चैत ५ मा भारतको बिहारस्थित मुजफ्फरपुर पुगेको खुलासा भएको छ । साथमा श्रीमतीसमेत लिएर बिहार पुगेका लोहनीले त्यहाँ सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त तथा कुख्यात सुन तस्कर गोरे भन्ने चूडामणि उप्रेतीलाई भेटेको हुनसक्ने बताइएको छ । लोहनी भारततर्फ जाँदै गर्दा मोरङका एसपी अरुणकुमार बिसी एक दिन बिदा लिएर सोही समयमा काठमाडौँ आएका थिए । तत्कालीन आइजीपी प्रकाश अर्यालले अवकाशको मुखमा रहेका डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेकोले उक्त समितिबाट प्रभावकारी रुपमा छानबिन हुन् नसक्ने आँकलन गर्दै सरकारले ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको थियो ।
सुन तस्करीमा दुई मितको कनेक्सन !
करिब साढे ३ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै उनका मित डा. उपेन्द्र महतो पनि अनुसन्धानको दायरामा आउने देखिएको छ । उपेन्द्रकान्त अर्यालको कार्यकालमा सबैभन्दा धेरै सुन तस्करी भएको तथ्य भेटिएपछि विशेष अनुसन्धान टोलीले उनीमाथिको छानबिनलाई तीव्रता दिएको बुझिएको छ । अर्यालसँगै उनका व्यावसायिक साझेदार तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष डा. महतोसमेत छानबिनको दायरामा तानिएको स्रोतको भनाइ छ ।
अर्यालको साढे ३ वर्षे कार्यकालमा करिब ४० टन सुन तस्करी भएको विशेष अनुसन्धान टोलीको प्रारम्भिक अनुमान छ । करिब २० टन जति सुन महतो समुहको लगानीमा भारततर्फ तस्करी भएको र सो बाट भएको आम्दानी हुण्डी मार्फत रसिया, अजरबैजान र साइप्रसका बिभिन्न कम्पनीमा लगानी गरेको भेटिएको स्रोतको दाबी छ । ‘उपेन्द्रकान्त अर्यालले सुन तस्करीबाट भएको आम्दानी मध्येको ३६ करोड रुपैयाँ महतोका एक आफन्तमार्फत साइप्रसमा लगानी गरेको भेटिएको छ, अरु रकम कता कता लगानी छ भन्ने अनुसन्धानबाट खुल्दै जाला,’ गृहका एक उच्च अधिकारीले भने ।
त्यसो त अर्यालको कार्यकालमा विमानस्थल बसेका पूर्वडीआईजी गोपाल भण्डारीले पनि सुन तस्करीलाई राम्रै मलजल गरे । विमानस्थलमै रहँदा अख्तियारले मुद्दा दायर गरेका कारण भण्डारी निलम्बनमा परेपछि तत्कालीन डीआईजी यादव अधिकारी विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइयो । प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका अधिकारीले सुन तस्करी गर्न नमानेपछि उनलाई तीन महिनामै हटाएर महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी विजयलाल कायस्थलाई निमित्त प्रमुख जिम्मेवारी दिइएको थियो । संगठनमा थुप्रै काविल डीआईजी हुँदाहुँदै एसएसपीलाई लैजानुको उद्देश्य पनि सुन तस्करी नै रहेको जानकारहरु बताउँछन् ।
कायस्थलाई विमानस्थलको सुरक्षा प्रमुखमा लैजानुको पछाडि तत्कालीन आइजीपी अर्याल र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको मुख्य हात रहेको स्रोतले बतायो । विमानस्थल गएको दुई महिनामा डीआइजीमा बढुवा भएका कायस्थले करिब डेढ वर्ष विमानस्थलको सुरक्षा प्रमुखको रुपमा काम गरे । कायस्थको कार्यकालमा सबैभन्दा धेरै सुन तस्करी भएको उनीसँगै काम गरेका अधिकृतहरु बताउँछन् । गत चैत २८ मा एआईजीबाट् अवकाश पाएका कायस्थविरुद्ध अकुत सम्पत्तिको मुद्दा हाल अख्तियारमा विचाराधीन छ ।
कायस्थको सरुवापश्चात् आएका डीआइर्जी गोविन्द निरौला सुन तस्कर गोरेसँगको सम्बन्धका कारण हाल मोरङ प्रहरीको हिरासतमा छन् भने त्यसबेलाका एसएसपी श्यामबहादुर खत्री हाल फरार छन् । डेढ वर्षअगाडि सीआईबीले बरामद गरेको साढे ३३ किलो सुनकाण्डमा संलग्नता देखिएपछि सीआईबीका तत्कालीन डीआईजी नवराज सिलवालले निरौलालाई पक्राउ गर्न तयारी गरेपछि तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले सीआईबीको काममा हस्तक्षेप गरेर निरौलालाई जोगाउन सफल भएको चर्चा चलेको थियो ।
के हो ३३ किलो सुनकाण्ड ?
गत फागुन १८ मा धरानमा भएको सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बद्नियतपुर्वक काम गरेको भन्दै फागुन अन्तिम साता गृह मन्त्रालयमा उजुरी प¥यो । महाशाखा प्रमुख एसएसपी लोहनी र अपरेशनको नेतृत्व गर्ने डीएसपी केसी र सई बालकृष्ण सञ्जेलले मुख्य दोषीलाई बचाउन करोडौंको बार्गेनिङ गरेको भन्दै समाचारहरु पनि बाहिरिए । महाशाखाको विशेष टोलीले गत १९ फागुनमा विराटनगर महानगर–३ स्थित पोखरिया कन्या मार्गमा सडकमा गुड्दै गरेको बा १२ च ५९६३ नम्बरको स्कर्पियोबाट मोरङ उर्लाबारी–७ निवासी सनम शाक्यको शव फेला परेको दाबी गरेर जिल्ला प्रहरी कार्यालय मोरङलाई घटना अनुसन्धानको जिम्मा लगाएको थियो ।
सुन विवादसम्बन्धी उक्त घटनामा पीडित भएका नरेन्द्र कार्की र मोहन काफ्लेलाई जबर्जस्ती प्रतिवादी बनाएर मुख्य आरोपी गोरे भन्ने चूडामणि उप्रेतीलाई भगाउने काममा प्रहरीको भूमिका रहेको भन्दै पीडितका आफन्तले गृह मन्त्रालयमा उजुरी दिएका थिए । घटना विवरणअनुसार फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर ल्याइएको ३३ किलो सुन गायब भयो । उक्त सुन कसैले लुट्यो अथवा कसैले लुकायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । उपेन्द्रकान्त अर्यालदेखि नेपाल प्रहरीको आईजीपी हुँदादेखि सुन तस्करीको साम्राज्य चलाउँदै आएका चूडामणि उप्रेती उक्त सुनको मालिक हुन् । जो बजारमा गोरे नामले चिनिन्छन् । हाल प्रहरीको थुनामा रहेका मोहन काफ्ले, नरेन्द्र कार्की र मृतक सनम शाक्य भरिया हुन् । ३३ किलो सुन गायब भएपछि गोरेले सुन खोजिदिन महाशाखाका सई सन्जेललाई अनुरोध गर्छन् । सञ्जेलले सुन आधा आधा बाड्ने शर्तमा गोरेलाई सहयोग गर्ने आश्वासन दिएपछि सुन खोज्ने अभियान सुरु हुन्छ । १२ फागुनमा गोरेले भरियामध्येका नरेन्द्र कार्कीलाई काठमाडौं बोलाएर गौरीघाटस्थित एक घरमा बन्धक बनाउँछन् । त्यहाँ उनलाई चरम यातना दिइन्छ । यातना दिने स्थलमा पुगेका महाशाखाका सई सन्जेलले पनि सुन ननिकाले गोलीले उडाइदिने धम्की दिन्छन् । जति कुट्दा पनि कार्कीले कुरा नखोलेपछि १५ फागुनमा त्रिभुवन विमानस्थलबाट जहाजमार्फत कार्कीलाई विराटनगर पु¥याइन्छ भने मोहन काफ्ले र सनम शाक्यलाई सिरहाको लहान बोलाएर सोधपुछ गरिन्छ ।
सोही साँझ तीनै जनालाई सुनसरीको इटहरीमा भेला गराएर गोरे र उनका सहयोगीहरूले स्कर्पियो गाडीमा राखेर राती धरानको निर्भाणा कन्ट्री क्लब पु¥याउँछन् । त्यस रातभर होटेलको कोठामा खानासमेत खान नदिई तीनै जनालाई चरम यातना दिइन्छ । रातभर जति कुटपिट गर्दा पनि उनीहरूले केही नबोलेपछि १६ फागुनको बिहानै काठमाडौं जाने भन्दै गोरेले तीन जनालाई स्कर्पियो गाडीमा राखेर मोरङ उर्लाबारीको झारासाझी भन्ने ठाउँको जंगलमा लगेर चरम यातना दिन्छन् । धरानबाट झारासाझी लगेर यातना दिने र साँझ धरानको निर्भाणा कन्ट्री क्लब ल्याउने प्रक्रिया दुई दिनसम्म चल्छ । यस्तै क्रम चलिरहदाँ १८ फागुनको दिउँसो विद्युतीय करेन्टको यातना सहन नसकी सनमले मृत्युवरण गर्छन् । कार्की र काफ्ले बाँच्न सफल हुन्छन् ।
सनमको मृत्यु भएपछि गोरेले अत्तालिँदै महाशाखाका सई सन्जेललाई फोन गरेर लासको व्यवस्थापन गरिदिन अनुरोध गर्छन् । त्यो बीचमा सन्जेल र गोरेबीच चलेको बार्गेनिङ दुई करोडमा टुंगिन्छ । मोलमोलाई मिलेपछि सञ्जेलले एसएसपी दिवेश लोहनीलाई भ्रामक रिपोर्टिङ गर्छन । ‘सर, धरानमा ३३ किलो सुन लिएर आएकाबीच विवाद हुँदा एकजना मरेको छ रे, सुन पनि गाडीमै छ भन्ने खबर आएको छ ।’ सञ्जेलको रिपोर्टिङपश्चात् एसएसपी लोहनीले डीएसपी प्रजित केसीको कमाण्डमा सञ्जेलसहित ४ जनाको टोली खटाउँछन् । १८ फागुनको साँझपख काठमाडौंबाट हिँडेको टोली १९ फागुनको बिहान ३ बजे महाशाखाको प्रहरी टोली धरानको भानुचोक पुगेर गोरेका चालक टेकराज मल्ललाई भेट्छन् र शवसहितको गाडी नियन्त्रणमा लिन्छन् ।
त्यसको केही घण्टामा इटहरीको एउटा होटेलबाट यातनाबाट पीडित नरेन्द्र कार्की र मोहन काफ्ले पनि प्रहरी नियन्त्रणमा पर्छन् । इटहरीको एक होटेलमा केहीबेर आराम गरेपछि प्रहरीले लाससहितको गाडी र पक्राउ परेका सबैलाई विराटनगर लिएर जान्छन् । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया कन्यामार्गमा पुगेपछि एउटा नाटकीय कथा बुनिन्छ । ‘सडकमा गुड्दै गरेको बा१२च ५९६३ नम्बरको स्कर्पियो गाडीबाट मोरङ उर्लाबारी ७ बस्ने वर्ष ३३ को सनम शाक्यको शव फेला परेको, घटनाका मतियार चालक टेकराज मल्ल, र अभियुक्तहरू मोहन काफ्ले र नरेन्द्र कार्की पक्राउ परेको, मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती र उनका एक सहयोगी फरार रहेको मुचुल्का गराएर घटनाको अनुसन्धानको जिम्मा मोरङ प्रहरीलाई सुम्पिएर महाशाखाको टोली काठमाडौं फर्किन्छ । प्रहरीले उक्त घटनामा बारदातस्थल नै परिवर्तन गर्ने प्रयास गरेको भेटिएको छ । धरानमा बरामद गरेको शवलाई जिल्ला कटाएर विराटनगरमा बरामदी मुचुल्का गरिनु अत्यन्तै शंकास्पद मानिएको छानबिनमा खटिएका अधिकारीहरुको दाबी छ । कानुनतः बारदात स्थल परिवर्तन गर्न र मृतकको शव बरामद भएको स्थलबाट यताउता सार्न पाइँदैन । अनुसन्धानको क्रममा आरोपीमध्येका सई सञ्जेल र मुख्य अभियुक्त उप्रेतीबीच घटना हुनुभन्दा अघि र पछि पटकपटक टेलिफोनमार्फत सम्पर्क स्थापित भएको देखिएको छ । अभियुक्त ‘गोरे’ भन्ने उप्रेती नेपाली सेनाका भगौडा हुन् । गोरेले सञ्जेललाई ‘मामा’ भनेर सम्बोधन गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । अनुसन्धानको क्रममा संजेलले सनम शाक्य हत्याको घटनामा मुख्य सहयोगीको भूमिका निभाएको र लुटिएको भनिएको सुनसमेत उनकै योजनामा लुटिएको हुनसक्ने अनुमान विशेष अनुसन्धान टोलीको आशंका छ ।
मृतककी प्रेमिकाको बयान: सई सञ्जेलले यो केसको इञ्चार्ज म हो, टेन्सन नलिनु भन्नुभएको थियो
मेरो फोनको वाल पेपरमा मेरो र सनमको फोटो देखेपछि रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए । अनि, मैले कसरी सनमलाई चिन्नु भयो भनि सोध्दा रमेशले म आफैं पनि सनमहरुसँग काम गरेको तर अहिले छाडेको कुरा भनेका हुन् । रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो । त्यसपछि मैले सनमको कामको बारेमा थाहा पाएकी हुँ । त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा सनमले हो, म सुन तस्करीको कारोबार गर्छु भनेको थियो । सनमले तँलाई कसरी थाहा भयो भनि मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुँ । रमेशको नाम लिँदा मैले मेरो मोबाइलमा भएको फोटो देखाउँदा उसले यो टेकराज मल्लको सालो हो भनेका थिए । फेसेज लन्चमा ती तीन जनाको बीचमा कुरा भएको समयसम्म म अन्जानमा थिएँ, तर, रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा रहेछ । रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन् । उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण सञ्जेलसँग भेट भएको थियो । त्यहाँ कुरा हुँदा सञ्जेल इकाउन्टर इस्पेसलिस्ट हो भनि मलाई रोशन श्रेष्ठले दरबारमार्गमा भएको बेक्स ऐन्ड केक्स पसलमा चिनजान गरायो । उनीहरुको प्लान सफल हुनुभन्दा अगाडी सञ्जेलले यो कुराहरु गोरेसँग र्पुयाएको थियो । त्योसँगै मेरो केही तस्विरहरु पनि सञ्जेलमार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणि उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए । त्यसपछि गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाइ दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो । र, सनमले मलाई अलि होस गरेर हिड्नु भनेका थिए । सो घटनापछि हाडीगाउँस्थित सनम र अन्य साथीहरु बस्ने घरबाट सबै सामानहरु निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दशैंमा धरान घुम्न गएको समय देखिनै सनम काठमाडौं आएका थिएनन् । पूर्व गएपछि सनम र मेरो फोन पातलो हुन थाल्यो । उसँग सम्पर्क हुँदा म गोरे दाइसँगै छु भन्यो । फोन अलि पातलो हुन थालेको थियो । यस्तैमा फेबुअरी २८ तारिकमा बिहान ७ बजे मलाई ‘कल नगर है, म अब दाईसँग हुन्छु, १ महिना लागेपनि आफैं कल गर्छु । बोल्दा पनि नर्मल तरिकाले बोल्नु है, ल मैले कल नगरुन्जेल जति लागे पनि कल चाँही नगर है ल बुडी । रिसाइस होला ।’ भनेर म्यासेज आयो । तर, अहिले कल चाँही नगर्नु ल भनि उल्लेखित नम्बरमा म्यासेज गरेपछि मैले पनि कल गरिन मार्च १ तारिक होलीको दिन मैले हेप्पी होली भनि म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो। तर, कुरा भएन । फोन उठेन । त्यपछि फोन अफ भयो । त्यसको भोलिपल्ट मार्च ३ तारिकमा मिति २०७४।१०।१९ गते बिहान ८ बजे प्रहरी आएर मेरो लाजिम्पाटस्थित कोठामा खानतलासी ग¥यो । र, साढे ३३ केजी सुन कहाँ छ ? भनि सोधपुछ गर्न थाल्यो । त्यसपछि सोधपुछका लागि मलाई अपराध महाशाखा लगी सोधपुछ गर्ने क्रममा सनमको हत्या भइसकेको कुरा मैले थाहा पाएकी हुँ । म प्रहरीमा गइसकेपछि मलाइ बालकृष्ण सञ्जेल सरले फोन गरी यो केसको ईञ्चाज हामी हो, टेन्सन नलिनु भन्नु भएको थियो । त्यसको १ हप्ता पछाडि सञ्जेल सर र मेरो दरबारमार्गमा भेट भएको थियो, सनमको मृत्यु भइसकेको कुरा थाहा पाएपछि मैले सनमको श्रीमतीलाई फोन गरी सनमको छोरी दिप्सालाई पढाइ दिन्छु भनेकी थिएँ । (मृतक सनम शाक्यकी प्रेमिका निशा सेन ठकुरीले बिशेष अनुसन्धान टोलीलाई दिएको बयानको केहि अंश)
श्रोत: – सुशासन न्यूज बाट साभार गरिएको



