कास्की, १५ पुस । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर बाधा पुर्याइरहेको बताएका छन् । कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले लोडसेडिङ चाहने तत्वहरुले अवरोध पुर्याइरहेको खुलासा गरे ।आफू मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको स्मरण गराउँदै उनले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा हरसम्भव कोशिरहरु भइरहेको जानकारी दिए । इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको उनको गुनासो छ ।
‘काम गर्न नदिएर हैरान पार्ने गरिएको छ, तर म निराश हुन्न,’ मन्त्री शर्माले भने, ‘उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु ।’
साथै फरक प्रसंगमा मन्त्री शर्माले जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताका लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।
कतिपयले उत्पादित बिजुली कहाँ बेच्ने भन्ने चिन्ता व्यक्त गरिरहेको भन्दै उनले बिजुली बेच्नेतिर मात्र नभई स्वदेशमै खर्च गर्ने योजना आफूसँग रहेको उनको जिकिर छ ।



