सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ घाइते अवस्थामा फरार भएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले चाचाजी भनिने महावीर गोल्यान र एमके भनिने मोहन अग्रवाल समूहको कुटाइबाट गोरे घाइते भएको सुराकी पाएको हो । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गोरेविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ।

समितिले ३३ किलो सुनको लगानीकर्ता गोल्यान भएको निष्कर्ष निकालेको छ । समितिका अनुसार सुन हराएपछि गोरेलाई सो समूहले कुटपिट गरेको थियो । ३३ किलो सुन थाई एयरलाइन्सका इन्जिनियर सानु वनले अनामनगरबाट लुटाएपछि गोल्यान समूहले गोरेलाई कुटपिट गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोरेले गोल्यान समूहबाट कुटाइ खाएपछि आफ्नो समूहका सबैलाई अपहरण गरी कुटपिट गर्दा शाक्यको मृत्यु भएको थियो । पौडेल नेतृत्वको समितिका सदस्यहरुले गोरे घाइते भएको र ३३ किलो सुनको लगानीकर्ता गोल्यान भएको सुराकी पाएपछि सोही आधारमा गोल्यान पक्राउ गरी थप अनुसन्धान अघि बढाएका हुन् । समितिले पछिल्लो समय नेपालबाट ३८ क्विन्टल सुन तस्करीमा गोरे समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

समिति स्रोतका अनुसार गोरेको चाचाजीसँग दुबईमा सम्पर्क भएको थियो । चाचाजी र अन्य सुन व्यवसायीको अर्डरमा गोरेले त्यहाँबाट नेपालमा सुन पठाइदिने गरेका थिए । सुरुमा साथीभाइको पैसा जम्मा पारेर नेपालमा १०÷१० तोला सुन पठाउने गरेका गोरेले चाचाजीसँग सम्पर्क बढेपछि उनकै लगानीमा ठूलो परिमाणमा सुन पठाउन थालेका थिए । स्रोतका अनुसार चाचाजीकै कारण गोरे सुन तस्करको सञ्जालमा आबद्ध भएका थिए । उनले दुबईमा रहेका हरिशरण खड्कासँग मिलेर रेस्टुरेन्ट व्यवसाय गरेका थिए।

२०७३ पुस २१ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साढे ३३ किलो सुन बरामद गरी खड्कालाई मुख्य अभियुक्त बनाएपछि गोरे र खड्का अलग भएका थिए । खड्का सो प्रकरणमा मुछिए पनि सुन तस्करी गर्न भने छाडेनन् । खड्काले नै पठाएको दुई किलो सुन महानगरीय प्रहरी अपराध महाशाखाले गोरेकै सुराकीमा बरामद गरेको थियो । त्यो सुन चाचाजीकै समूहमा रहेका एमके अग्रवालको लगानीमा ल्याइएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीका चालक विष्णु खड्काले समितिसँगको बयानमा आफूले चाचाजी र एमके अग्रवाललाई २०-२५ पटक सुन पुर्याइदिएको बताएका छन् । नागरिक दैनिकबाट ।