दमक । प्रभावकारी अनुगमन र निरन्तरता नहुदा झापामा सडक पेटी तथा सरकारी जमिनको अतिक्रमण हटाउने अभियान देखावटि जस्तो मात्र हुने गरेको पाईएको छ । सडक डिभिजन कार्यालय दमक, दमक नगरपालिका लगायतले बारम्बार रुपमा सडक पेटीको अतिक्रमण र सरकारी जमिनमा रहेको बसोबास हटाउन अभियान चलाएपनि फेरी उस्तै हुने गरेको पाईएको हो । नगरपालिकाले राख्ने र्सदलीय बैठकमा सबै राजनीतिक दलहरुले अतिक्रमण हटाउनका लागि आफ्नो पार्टीबाट कुनै अवरोध नहुने र सहयोग रहने बताउने गरेपनि आफ्ना कार्यकर्ताहरुको उठिबास हुने भन्दै भित्रभित्रै भने अर्कै भूमिका गर्ने भएकाले समस्या भएको बताइन्छ । राजनीतिक दलका केहि स्थानीय नेताहरुको उक्साहट र संरक्षणमा अतिक्रमण निरन्तर हुने गरेको नगरपालिका श्रोतको भनाइ रहेको छ । करिब २ बर्षअघिदेखि नै दमकको पशुहाट र बसपार्क क्षेत्रको अतिक्रमण हटाउन थालिएको हो । केहि समय डोजर लगाएर यहाँ बनेका संरचनाहरु भत्काइएपनि रोकिएपछि फेरी अतिक्रमण उस्तै बनेको छ । दमक नगरपालिकाका कार्यकरी अधिकृत युवराज दाहालका अनुसार सार्वजनिक स्थलको अतिक्रमण हटाउनका लागि बारम्बार आग्रह गरिएको छ र नहटाए अब नगरपालिकाले फेरी बल प्रयोग गरेर हटाउछ । दमकको पशुहाटमा बर्षौदेखि अतिक्रमण गरेर बसेका करिब २५ घर हटाइएपनि अहिले पनि १५ भन्दा बढि घर टहराहरु हट्न मानेकाछैनन् । कार्यकारी अधिकृत दाहालका अनुसार करिब १२ करोडको लागतमा बिश्व बैकको सहयोगमा पशुहाटको आधुनिकीकरण हुन लागेकाले अब यहाँ रहेका सबै अतिक्रमण हटाइने छ । आफै हटन १५ दिनको समयसिमा दिने र नहटे बल प्रयोग गरेर हटाउन बाध्य हुने उहाँले बताउनु भयो । दमक नगरपालिकाको मूख्य चौकमा सडक पेटी अतिक्रमण गरेर ब्यापार ब्यवसाय गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि एकबर्ष अघि नगरपालिकाले प्रशासनको सहयोगमा घुम्ति तथा ढेलाहरु उठाएपनि फेरी उस्तै देखिएको छ । अहिले बिहान २ बजेदेखि बेलुका १० बजेसम्म सडक पेटीमा ढेलामा खाद्यपदार्थको ब्यवसाय चलाउनेको भिड हुने गरेको छ । दमक नगरपालिका वातवरण तथा सरसफाइ शाखा प्रमुख दोर्ण थापाका अनुसार बजारको सुन्दरतामा यस्तो ब्यवसाय गर्ने प्रवृतीले असर पुर्याएकाले हटाउने गरिएको भएपनि फेरि उस्तै हुने गरेको बताउनु भयो । नगर प्रहरी परिचालन गरेर रोक्न प्रयास बारम्बार भएपनि नसकिएको स्वीकार गर्दै बल प्रयोग गरेर र नभए कार्वाही गर्नसम्म पनि पछि नपर्ने थापा बताउनुहुन्छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार सडक अतिक्रमण गरेर ब्यापार ब्यवसाय गर्दा र सडकमा जथाभावी रुपमा सवारी साधन पार्किङ गर्दा बजारको मुख्य चौकमा बारम्बार दूर्घटना हुने गरेको छ । पैदलयात्री हिड्ने ठाँउमा सवारी साधनको पार्किङ र ब्यवसाय गर्नेको भिडका कारण ट्राफिक ब्यवस्थापन पनि चुनौती रहेको लिम्बुको भनाइ छ । यस्तो अब्यवस्थालाइ हटाउनका लागि नगरपालिका या सरोकारवाला निकायले सहयोग मागेमा सहयोग गर्न आफुहरु तयार रहेको उहाँले बताउनु भयो । दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार सरकारलाई कर तिरेर र हजारौ भाडा तिरेर ब्यवसाय गर्ने ब्यवसायि एकातिर मारमा परेकाछन् भने अर्का तिर अतिक्रमणले गर्दा ठूलो समस्या पैदा भएको छ । सडक पेटी अतिक्रमण हटाउने र सरकारी जमिनमा भएका अतिक्रमण हटाएर नीजि क्षेत्रलाई ब्यवसायिक कामका लागि जमिन भाडामा दिने हो भने नगरपालिकाको आम्दानी बढ्ने ढकाल बताउनु हुन्छ । यसमा बाणिज्य संघ सहयोग गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनु भयो ।