दमक,। स्मरणशक्ति तेज भएको ब्याक्तिको रुपमा ‘गिनिज बुक अफ दि वल्र्ड रिकर्ड’मा आफ्नो नाम लेखाउन सफल हुनु भएका झापा भद्रपुरका अर्पण शर्मा स्मरणशक्ति बढाउने उपाय बिद्यार्थीहरुलाई  सिकाउने अभियानमा लाग्नु भएको छ । शर्माले एक मिनेटको अवधिमा ४२ वटा बिभिन्न शब्दक्रम मिलाएर (सम्झिएर) बिश्वकै तेज दिमाग भएका ब्याक्तिको रुपमा बिश्व रेकर्ड कायम गरेका गर्नु भएको हो । नीजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालय तथा कक्षाकोठामा गएर स्मरणशक्ति बढाउने अभियानमा आफू लागेको शर्मा बताउनु हुन्छ । शर्माका अनुसार आफूमा भएको क्षमतालाई बिद्यार्थीहरुसंग बाडेर स्मरणशक्ति बढाउने उपायहरुको बिषयमा छलफल गरिने गरेको छ । अहिलेसम्म आफूले कम्तिमा पनि ५ हजार बिद्यार्थीहरुमाझ छलफल गरिसकेको शर्माको भनाइ रहेको छ । निरन्तर प्रयास र बिभिन्न उपायहरुको प्रयोगले आफूले स्मरणशक्ति बढाएको जनाउदै यो सबैले सक्ने भएकाले आफू त्यसमा लागि परेको शर्मा बताउनु हुन्छ । आफ्नो अभियानलाई बिद्यालय तथा बिद्यार्थीहरुले सकारत्मक रुपमा लिएर सहयोग पुर्याउदै आएको जनाउदै यो कामलाई निरन्तरता दिने शर्माले जनाउनु भयो । उहाँले भन्नुभयो–‘स्मरणशक्तिलाई बढाएमा यसले जिबनका हरेक पलहरुमा सहयोग पुग्ने भएकाले यस अभियान चलाउन म लागिपरेको हु ।’ झापाको दमकमा रहेको हिमशिखर टिभिले रेकर्डका लागि समन्वयकारी भूमिका खेलेको र उक्त रेकर्ड कायम भएको प्रमाणपत्र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट यहिसाता पाएको जनाउदै यसले आफूलाई अझ हौसला मिलेको शर्माले बताउनु भयो । प्रमाणपत्र प्रदान गरेपछि अ‍ोलीले नेपालमा क्षमतावान र प्रतिभावान ब्याक्तिहरुको कमी नरहेको बताउनु भएको थियो । बिश्वमा शान्ति छर्ने गौतम बुद्ध देखि लिएर तेज मष्तिष्क भएका अर्पण शर्मा जस्ता ब्याक्ति नेपालमा जन्मिएको भन्दै नेपालीहरु केहिमा पनि कमी नरहेको ओलीले बताएको हिमशिखर टिभिका अध्यक्ष धुब्र न्यौपानेले बताउनु भयो । बिश्व रेकर्ड कायम गर्नु भएका शर्माले आफू अझ बलियो रेकर्डका लागि पनि सक्षम भएको बताउदै आउनु भएको छ ।