काठमाडौैं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग निर्माण व्यवसायीहरुले गुन्डादेखि कर्मचारीसम्मले दुःख दिने गरेको गुनासो गरेका छन्। सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले गुन्डादेखि कर्मचारीहरुबाट समेत आफुहरु पीडित भएको गुनासो गरेका हुन्।
उनीहरुको गुनासो सुनेपछि मन्त्री थापाले गुन्डादेखि कर्मचारी कसैलाई पनि पैसा नबाड्न निर्देशन दिदै कसैले मागे आफुहरुलाई खबर गर्न आग्रह गरेका छन्। समयमा काम नगर्ने ठेकदारहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि धरपकड नगर्न ध्यानाकर्षण गराउन भन्दै ज्ञापनपत्र बोकेर व्यवसायीहरु मन्त्रीलाई भेट्न गएका हुन्।
व्यवसायीको गुनासो सुनेपछि मन्त्री थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने चेतावदी दिएका छन्।
‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन।’ उनले भने, ‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस । उनिहरुलाई तत्कालै जेल हाल्छौं।’
निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि मन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
प्रतिनिधमण्डलले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएकोमा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामाग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेको भन्दै हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
आवश्यकता अनुसार बालुवा, गिटी नपाईने, फलामै डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण आफुहरुले भने अनुसार काम गर्न नसकिरहेको गुनासो निर्माण व्यवसायीहरुले गृहमन्त्रीसँग राखे।नेपाल लाइभ बाट साभार



