सरकार गठन भएको तीन महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली गएको फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तीन महिनापछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ रहेको जनाइएको छ । एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ ।
ओलीकी श्रीमती राधिका शाक्यको नाममा २ कित्ता जग्गामा बनेको २ वटा घर छन् । एउटा १ रोपनी र अर्काे डेढ रोपनी जग्गामा २ वटा घर बनाइएको विवरणमा उल्लेख छ । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १७/१८ तोला गहना रहेको उल्लेख छ ।
त्यस्तै श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छ्रे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ । राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत रहेको उनको भनाई छ ।



यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एउटा पुरानो साइकल मात्र रहेको छ । मन्त्री पण्डितले बुझाएको सम्पत्ति विवरणमा मोरङको विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर भएको उल्लेख छ । यस्तै विराटनगरमा एक कठ्ठा घर भएको जग्गा र सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख छ । मन्त्रीपत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ अना जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।



विवरणमा १० तोला सुन र चाँदी १५ तोला पैत्रिक सम्पत्तिको रुपमा रहेको पण्डितले उल्लेख गरेका छन् । उनीसँग एभरेस्ट बैंकमा २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा समेत ३० लाख स्वआर्जनमार्फत प्राप्त भएको विवरणमा खुलाइएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण हेर्न यहाँ क्लीक गर्नुहोस्
दैनिक नेपाल बाट



