काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नाइके भनिएमा चूडामणि उप्रेती ‘गोरे’को बयान शुक्रबारसम्म सक्ने तयारी जिल्ला अदालत मोरङले गरेको छ।

शुक्रबारबाट गोरेको मुद्दामा थुनछेक बहस सुरु हुने जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालत मोरङमा बुधबारबाट सुरु भएको बयान आज पनि जारी छ। प्रहरीले बिहान १० बजे नै गोरेलाई बयान गर्न अदालत पेस गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यायाधीश नारायणप्रसाद शर्माको बन्द एकल इजलासमा गोरेको बयान चलिरहेको हो।

काठमाडौंबाट मंगलबार पक्राउ परेका गोरेलाई सोही दिन अबेर जिल्ला अदालत मोरङ पेस गरिएको थियो। अदालतले मंगलबारमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो। प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो। मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्।

मिलेमतोमा सुन तस्करी गर्ने गोरे समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको दाबी अभियोगपत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो। नेपाल लाइभ बाट