काठमाडौं, १७ पुस । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको छ । जवाफ नै नआएकाले छिमेकी मुलुकमा भएको आफ्नो मुद्रा संकलित गर्न भारत तयार छैन भन्ने सन्देश प्रवाह भएको राष्ट्र बैंकका एक अधिकारीले बताए । नेपालस्थित भारतीय दूतावासले एक महिनाअघि नोट सटही सुविधाबारे मोडालिटी माग गरेको थियो । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा समूह नै बनाएर सटहीबारे मोडालिटी तयार गरेको थियो । उक्त मोडालिटी भारतीय दूतावासलाई बुझाएको एक महिना बित्दा पनि कुनै जवाफ प्राप्त नभएको सिवाकोटीले बताए । ‘अहिलेसम्म हामीलाई कुनै जवाफ पनि दिएका छैनन्,’ उनले भने, ‘मिडियामा भारतीय टोली नेपाल आउन लागेको भन्ने खबर आएका छन् । तर, त्यसबारे हामीसँग कुनै संकेतसम्म नगरिएकाले विश्वास गर्ने ठाउँ छैन ।’राष्ट्र बैंकका अधिकारी र व्यवसायीले पनि भारतले नेपालीसँग भएको भारु सटही सुविधा दिनेमा अझै आशावादी रहेको बताएका छन् । ‘वाणिज्य बैंकमार्फत हुने सटहीको समयसीमा सकिएको हो,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘अब उसले नेपाल र भुटानमा भएको भारु व्यवस्थापनबारे थप कदम चाल्छ भन्ने लागेको छ ।’ भारतमा नोट प्रतिबन्धले निम्त्याएको समस्या सुल्झिनसके पनि केही हदसम्म व्यवस्थापन भएको छ । यसपछि मुलुकबाहिरको मुद्राबारे विचार गर्न सक्ने भन्दै सरोकारवालाले आशा जीवित राखेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि आशा मार्नुपर्ने अवस्था बनिनसकेको बताए । ‘अझै तीन महिना भारतीय केन्द्रीय बैंकका निश्चित शाखाले नोट सटही सुविधा दिने भएकाले समय सकियो भन्ने वेला भएको छैन,’ उनले भने, ‘यो वेला सरकारले भारतसामु दबाब बढाउनुपर्छ ।’ भारु सटही सुविधा नपाउँदा नेपालले कुन आकारमा वित्तीय घाटा सहनुपर्छ भन्ने स्पष्ट अनुमान कसैले पनि गर्न सकेको छैन । कतिपय व्यवसायी, सुरक्षाकर्मी र राष्ट्र बैंकका अधिकारी पनि धेरै नेपालीले आफूसँग भएको भारतीय रुपैयाँ सटही गरिसकेको दाबी गर्छन् । नेपालीलाई २५ हजार रुपैयाँसम्म मात्रै पाँच सय र हजार दरका भारु ल्याउन पाउने कानुनी व्यवस्था छ । तर, व्यवसायीले आठदेखि १० अर्ब भारु नेपालीसँग रहेको अनुमान गरेका थिए । त्यसमध्ये अधिकांश पैसा साटिएर भारतीय बैंकमा जम्मा भइसकेको स्रोतको भनाइ छ । यद्यपि, यसको विनिमय घाटा भने नेपालीले बेहोरेका छन् । भारु सयबराबर एक सय ६० रुपैयाँको स्थिर विनिमय दर भए पनि धेरैले समान दर (सय भारुबराबर सय नेरु)को दरमा सटही गरेको सम्बद्ध स्रोतको भनाइ छ । त्यसो गर्दा नेपालीले ३७ दशमलव पाँच प्रतिशत विनिमय घाटा बेहोर्छन् । अर्थात्, नेपालीको सम्पत्ति झन्डै ३८ प्रतिशत घट्छ । अनुमान गरिएजस्तो आठ अर्ब भारुमा ३७ दशमलव पाँच प्रतिशत विनिमय घाटा भयो भने तीन अर्ब रुपैयाँ नाश भएको देखिन्छ । तथापि, यो तथ्यांकमा विश्वस्त हुने आधार नदेखिने विश्लेषक बताउँछन् । नयाँ पत्रिका दैनिकमा विनय बन्जाराले खबर लेखेका छन् ।
भारु सटहीको समय सकियो, नेपालीको साटिएन

सवाल नेपालसंवाददाताआइतबार, १६ पुस २०७३

भारु सटहीको समय सकियो, नेपालीको साटिएन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


