तस्करीको ३३ किलो सुन र सनम हत्या मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका केही अभियुक्तमाथि फेरि अनुसन्धान हुने भएको छ ।

मंगलबार पक्राउ परेका मुद्दाका मुख्यअभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ले दिएको र कारागारमा रहेकाको बयान फरक भएपछि समितिले उनीहरूमध्ये केहीलाई थप अनुसन्धान गर्न लागेको स्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गोरे फरार भएको बेला पक्राउ परेकाले ऊ नै ठूलो तस्कर हो भने,’ समिति स्रोतले भन्यो, ‘तर गोरेले आफू ठूलो तस्कर नभएर सुन व्यस्थापकमात्र भएको बयान दिएपछि फेरि अनुसन्धान गर्न लागेका हौं ।’

स्रोतका अनुसार कारागारमा रहेका भुजुङ गुरुङ र फरार एमके भन्ने मोहन अग्रवालका लागि गोरेले काम गर्दै आएका थिए । ‘भुजुङले गोरे नै ठुलो व्यक्ति भन्दै समितिमा बयान दिएका थिए जुन अहिले फरक देखियो,’ स्रोतले भन्यो ।

कारागारमा रहेका अभियुक्त र गोरेको बयानमा बाझिएका कुरालाई प्रष्ट पार्न पुनः अनुसन्धान गरिने भएको हो । अनुसन्धानमा सलग्न एक अधिकारीले भने, ‘नयाँ कुरा खुल्न सक्ने देखेका छौं ।’

यसअघि ‘गोर’लाई सार्वजानिक गर्ने दिन समिति संयोजक सहसचिव ईश्वरराज पौडेलले आवश्यक परे पुर्पक्षमा जेल चलान भएका अभियुक्तको फेरि बयान लिने बताएका थिए ।

संगठित अपराध ऐन २०६९ को दफा २२ मा पुर्पक्षमा जेल चलान भएका अभियुक्तमाथि फेरि अनुसन्धान गर्नसक्ने व्यवस्था छ । काठमाण्डु टुडे बाट साभार