झापा । दमक नगरपालिकाका वासिन्दाले अझैं पनि सुरक्षित चर्पी (शौचालय) को प्रयोग गर्न सकेका छैनन् । राष्ट्रिय जनगणना २०६८ अनुसार दमक नगरपालिकामा रहेका कूल चर्पी मध्ये ३५.६२ प्रतिशत चर्पीहरु असुरक्षित छन् । नगरका १८ हजार १ सय ४ घरधुरीमध्ये ५ हजार ७ सय ९४ प्रतिशत घरमा असुरक्षित चर्पी छन् भने १० हजार ४ सय ७० मात्र सुरक्षित चर्पी रहेको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो दमक । यो नगर अझैं पनि खुल्ला दिशा मुक्त हुन सकेको छैन । दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांक अनुसार अझैं २ सय ७० घरमा चर्पी नै छैन । वडाबाट संकलन गरिएको तथ्यांकअनुसार करिब ३ सय घरमा चर्पी बनाउन बाँकी रहेको देखिए पनि वडाअध्यक्षहरुले संकलन गरेको तथ्यांकअनुसार करिब ५ सय घरधुरीमा चर्पी बनाउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनुभयो ।
सरसफाइ गुरुयोजना २०६८ अनुसार कुनै पनि इकाइ खुल्ला दिसामुक्त घोषणा हुनका लागि त्यसभित्रका सम्पूर्ण घरधुरीको सुरक्षित शौचालयमा पहुँच हुनु अनिवार्य छ । तर, दमक नगरपालिकाका तत्कालीन वडाहरु खुल्ला दिसामुक्त घोषणा हुँदा कुनै पनि वडाका सतप्रतिशत घरधुरीमा सुरक्षित चर्पीको पहुँच छैन । स्थानीय तह पुनःसंरचना हुनुअघि खुल्ला दिसामुक्त घोषणा गरिएको साविक वडा नं. २ मा १८ घरधुरी चर्पीविहिन छन् भने वडा नं. ३ मा ७३ घर र वडा नं. ४ मा १५ घरधुरी चर्पी विहिन छन् । हाल वडा नं. ९ मा गाभिएको तत्कालीन वडा नं. १५ खुल्ला दिसामुक्त घोषणा हुँदा ५८ घरमा चर्पी थिएनन् भने हाल वडा नं. १० मा गाभिएका तत्कालीन वडा नं. १७ मा ३४, वडा नं. १८ मा ४० र वडा नं. १९ मा ३६ घरमा चर्पी नबन्दै खुल्ला दिसामुक्त घोषणा भएका छन् ।
पुर्बेली न्युज बाट साभार



