विष्णुप्रसाद पोखरेल
दमक । झापाको गौरादहको मुख्य डिपु चोकबाट बजार हुँदै गौरादहमा नै पर्ने बैगुन्धुरा हुदै कोरोबारी जोड्ने सडक निर्माणमा लापरवाही भएको पाईएको छ । स्थानीय जनप्रतिनिधि तथा उपभोक्ताहरुले सडक निर्माणमा लापरवाही भएको भन्दै बिरोध जनाएपछि मंगलवार अनुगमन हुँदा लापरवाही भेटिएको पाईएको हो ।
गौरादह वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार जनप्रतिनिधिको संलग्नतामा नै सडक कमसल बनेको र मापदण्ड बिपरीत काम भएको भन्ने भ्रम फैल्याउने काम भएकाले आफूहरुले सडक डिभिजन कार्यालय दमकको ध्यानकर्षण गराएको बताउनु भयो । आफूहरुले सम्झौता अनुसार गुणस्तरमा कुनै कमी नगर्नका लागि अनुरोध गरेको जनाउदै त्यो नभए आफूहरु समेत काम रोक्न बाध्य भन्ने भण्डारीको भनाइ रहेको छ ।
यो सडक निर्माणको बिषयमा आफूहरुलाइ सडक डिभिजन कार्यालय र निर्माण ब्यवसायीको तर्फबाट समेत केहि जानकारी नभएको अवस्थामा आफूहरुमाथि आरोप आएपछि संयुक्त अनुगमन गर्दा कमीकमजोरीहरु भेटिएको उहाँको भनाइ छ । स्थानीय उपभोक्ताहरुका समेत सहभागितामा अनुगमन भएको जनाउदै निर्माण ब्यवसायीले फेरी काम गर्ने प्रतिबद्धता जनाएको भण्डारीले जनाउनु भयो ।
नागार्जन बिष्णु जेभि इलामले ७ किलोमिटर सडक ५ मिटर कालोपत्रे गर्नका लागि २०७४ साल बैशाख २५ गते निर्माण सम्झौता गरी काम शुरु गरेको अवस्थामा डिपु चोकबाट सिस्ने खोलासम्मको काममा लापरवाही भेटिएको पुष्टि भएको सडक डिभिजन कार्यालय दमकका शव इन्जिनियर बिपिन ढुंगानाले बताउनु भयो ।
गुणस्तरमा नभएर सम्झौता अनुसार ६ इन्च ‘सवबेस’ राख्नु पर्नेमा त्यो नपाईएको अवस्थामा भेटिएको छ । अनिवार्य रुपमा सम्झौता अनुसार सवबेस ६ इन्च बनाउनका लागि निर्माण ब्यवसायीलाइ निर्देशन दिईएको र त्यो नभए कार्यालयबाट निकासा नै रोकिने उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो, सम्झौता अनुसार काम नभएको पाईएको छ र काम नसच्याएसम्म हामी निकास नै रोक्छौ ।
आउदो फागुन महिनासम्ममा काम सक्ने गरी नागार्जुन बिष्णु जेभिले ५ करोड ३ लाख ९१ हजार ९ सय ३५ रुपियामा निर्माण सम्झौता गरेको सडक डिभिजन कार्यालय दमकको भनाइ रहेको छ ।
निर्माण ब्यवसायीका प्रतिनिधि सुरेन्द्र प्रधानले आफूहरुबाट कमजोरी भएको बताउदै सडक डिभिजन कार्यालय र जनप्रतिनिधिहरुले भने बमोजिम सम्झौता अनुसारको काम गरेर मात्र सडक हस्ताण्तरण गर्ने बताउनु भयो । सबै ठाँउमा नभएर केहि ठाँउमा समस्या भेटिएको भन्दै सच्याउन आफूहरु तयार रहेको प्रधानको भनाइ रहेको छ ।
५ किलोमिटरमा केहि समस्या नदेखिएपनि करिब २ किलोमिटरमा यो समस्या देखिएको स्थानीयहरु बताउछन् । पुरानो पीच र छेउ भागमा रहेको इटा जस्ताको त्यस्तै देखिएको र आफूहरुले यसमा बिरोध जनाएको निर्माणाधिन सडकमा भेटिनु भएका वडा सदस्य कोमल ढुंगानाले जनाउनु भयो ।



