नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउने नेताको हैसियतमा गिरिजाप्रसाद कोइरालालाई र आफूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानका लागि सिफारिस गर्न आग्रह गरेका छन् ।
‘आज गणतन्त्र दिवसका दिन म नेताहरु सामु फर्केर भन्न चाहन्छु,’ गणतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलनका शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले प्रश्न गरे, ‘जो एउटा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुहुन्थ्यो सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र म विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतन्त्रमा रुपान्तरण गर्ने निकै जोखिम उठाएर ठूलठूला क्षति व्यहोरेर मैले यहाँ ल्याएको छु भने यी दुईटा शान्ति सम्झौताका हस्ताक्षरकर्ता अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्ने यिनलाई पुरस्कृत गर्ने कुरामा हामीले किन पहल गर्दैनौँ ? किन हामीलाई जाँगर आँउदैन ?’
उनले यो सम्मान गिरिजा प्रसाद कोइराला र प्रचण्डका लागि नभइ आफूहरुले गरेको ऐतिहासिक कामलाई र नेपालको लोकतान्त्रिक आन्दोलनको महान कामलाई विश्वभर स्थापित गर्ने काम भएको समेत बताए । ‘यो व्यक्तिाई सम्मानित गर्ने कुरा होइन्। यो पार्टीलाई सम्मानित गर्ने कुरा होइन्,’ अध्यक्ष प्रचण्डले भने, ‘यो परिवर्तनलाई सम्मानित गर्ने कुरा हो, लोकतन्त्रलाई सम्मानित गर्ने कुरा हो राष्ट्रलाई सम्मानित गर्ने कुरा हो र जनतालाई सम्मानित गर्ने कुरा हो ।’
प्रचण्डले काँग्रेस र कम्युनिस्टहरु मिलेका बेला देशमा ठूला ठूला परिवर्तन भएको भन्दै देशको विकासमा समेत मिलेर अगाडि बढ्नुपर्ने बताए । प्रचण्डले कम्युनिस्टहरु मिल्दैमा अधिनायकवाद आउँछ भन्ने आशंका नगर्न समेत आग्रह गरे ।
‘संविधान कार्यान्वयनका लागि पनि हामी मिलेर निर्वाचनमा गयौँ । अब विकास निर्माणका लागि पनि एक भएर अगाडि बढ्नुपर्छ,’ प्रचण्डले भने, ‘विकासकै लागि हामी दुई ठूला कम्युनिस्ट पार्टी मिलेका छौँ । आशंका हुन सक्छ अधिनायकवाद आउन सक्छ । तर हामी विकासका लागि एक भएका हौँ । आशंका नगरे हुन्छ हामी लोकतन्त्र मान्छौँ भनेर हस्ताक्षर गरेर आएका हौँ ।’
यसैबीच प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफूलाई दोस्रो पटक प्रधानमन्त्री बनाएकोमा धन्यवादसमेत व्यक्त गरे।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई ढलाएर काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । ‘म शेरबहादुरजी, र काँग्रेसलाई धन्यवाद दिन चाहन्छु मलाई दोस्रो पटक प्रधानमन्त्री बन्ने मौका दिनुभयो,’ उनले भने, ‘संविधान कार्यान्वयन र देशलाई निर्वाचनमा अगाडि बढाउने मौका दिनुभयो ।’ काठमान्डु टुडे बाट साभार



